विराटनगर । मोरङको कानेपोखरी १ होक्लाबारीका युवा आयुष गिरीको हत्या भएको आशंकामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
बेलबारी नगरपालिका ७ दौलथपुर स्थित नहरणको डिलमा बिहिबार विहान मृत भेटिएका युवाको हत्याको आशंकामा ११ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
बुधबार साँझ साथीहरूसँग सामान्य विवादपछि कुटाकुट भएको स्थानीयले देखेका थिए । बुधबार साँझ मृतक युवासँगै रहेका ११ जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।
प्रहरी स्रोतका अनुसार शव भेटिएको स्थान र शवको अवस्था हेर्दा अन्यन्त्र हत्या गरी शव नहरको डिलमा फालेको देखिएको छ । शवको पोष्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
सामान्य जनमजदूरी गर्ने परिवारका सदस्य आयुष बुधबार दिउँसोदेखि घरबाट सम्पर्कविहिन थिए । राति पनि उनी घर फर्किएका थिएनन् । बिहीबार बिहान करिब साढे ५ बजे मर्निङवाक गर्नेहरूले उनको शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।
गिरी मृत भेटिएपछि घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरीको तीनवटा टोली परिचालन भएको छ । गिरीसहित युवाहरुको एक समूहले स्थानीय पसलमा बुधबार साँझ मदिरा सेवन गरेर झगडा गरेको खुलेको प्रहरीले जनाएको छ ।