विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बिहीबार (भोली) बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने तय भएको छ।
नेकपा स्थायी समितिको बैठक गत मंसिर अन्तिममा एक सातासम्म बसेको थियो । त्यसयता बैठक नबसेको र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुपर्ने भन्दै २० जना स्थायी समिति सदस्यहरुले अध्यक्षद्वयलाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए ।
बैठकको समय र स्थानबारे अन्यौल कायमै रहेको बेला दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको भेटवार्तापछि समय र स्थान तय गरिएको हो । बैठकमा पेश गर्ने प्रस्ताव तथा एजेन्डाको विषयमा छलफल गर्न सचिवालयको बैठक बालुवाटारमा बसिरहेको छ ।