विराटनगर । नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा उभिने स्पष्ट पारेको छ। बिहीबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री कँडेलको विरुद्धमा मतदान गर्ने आधिकारिक निर्णय गर्दै वर्तमान सरकार ढाल्ने रणनीतिलाई थप बल पुर्याएको हो।
केन्द्रमा नेकपा एमाले र नेकपाबीच नयाँ सत्ता समीकरणका लागि विभिन्न चरणमा छलफल भइरहेको चर्चा चलिरहेका बेला कर्णालीमा भने नेकपाले आफ्नै प्रदेशगत निर्णयलाई निरन्तरता दिने भएको छ। नेकपा र नेपाली कांग्रेसका १६ जना सांसदहरूले यसअघि नै मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन्।
नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले पूर्वसहमति अनुसार नै अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिए। “हामीले उहाँमाथि अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छौँ, अब निर्णयबाट पछि हट्ने वा परिवर्तन गर्ने कुनै सम्भावना छैन,” प्रमुख सचेतक जिसीले भने।
सङ्घीय राजधानी काठमाडौँमा भइरहेका दलहरूबीचका शीर्ष संवादले प्रदेशको समीकरणमा तत्काल कुनै असर नपार्ने नेकपाले संकेत गरेको छ। प्रमुख सचेतक जिसीले थपे, “पार्टीले औपचारिक रूपमा कुनै नयाँ निर्देशन दिएको खण्डमा बेग्लै कुरा हो, अन्यथा छलफल चल्दैमा प्रदेशमा हाम्रो निर्णय फेरिँदैन। अहिले पार्टीको मूल भावना सर्वदलीय सरकार निर्माण गर्ने नै हो।”
कर्णालीमा कांग्रेस र नेकपाबीचको गठबन्धनले गत बिहीबार मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। उक्त प्रस्तावमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ।
प्रदेश राजनीतिमा आएको यो नयाँ मोडले मुख्यमन्त्री कँडेलको सत्ता संकटलाई झन् गहिरो बनाएको छ भने नेकपाले आफ्नो अडान नछोड्ने स्पष्ट सन्देश दिएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।