विराटनगर । पूर्वी नेपालको प्रमुख नगदे बालीको रूपमा रहेको चिया क्षेत्रमा देखिएका गम्भीर समस्या र निर्यातमा उत्पन्न अवरोध सुल्झाउन प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरूसँग विशेष छलफल गर्दैछन्। विभिन्न व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूसँग संवाद गरिरहेका प्रधानमन्त्रीले आज विशेषगरी झापा र इलामका चिया उद्योगीहरूले भोग्दै आएका समस्याका विषयमा केन्द्रित रहेर छलफल गर्न लागेका हुन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आजको भेटघाटमा चिया उद्योगीहरूले लामो समयदेखि झेल्दै आएका नीतिगत कठिनाइ र समाधानका उपायबारे विस्तृत छलफल हुनेछ। प्रधानमन्त्री शाहले आज अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टी–स्टेट, हिमालयन सांग्रिला चिया उद्योग, र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्री लगायतका अध्यक्ष तथा प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएका छन्।
नेपाली चियाको मुख्य बजार भारत रहेकाले भारतीय नीति र भन्सार प्रक्रियाका कारण यो क्षेत्र पटक–पटक संकटमा पर्ने गरेको छ। विशेषगरी, भारतले हालै लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण झन्डै दुई महिनासम्म चिया निर्यात अवरुद्ध भएको थियो। यसको प्रत्यक्ष असर कोशी प्रदेशका इलाम र झापाका दर्जनौँ चिया उद्योगहरूमा परेको छ। निर्यात ठप्प हुँदा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका र त्यहाँ कार्यरत हजारौँ कामदारहरूको रोजीरोटी खोसिएको विषयलाई व्यवसायीहरूले आज प्रधानमन्त्रीसमक्ष जोडदार रूपमा उठाउने तयारी गरेका छन्।
प्रधानमन्त्री बालेन शाहले पछिल्लो समय निजी क्षेत्रका समस्या सिधै सुन्ने अभियान नै चलाएका छन्। यसैक्रममा उनले हिजो मात्रै हस्तकला महासंघका प्रतिनिधिहरूसँग भेट गरेका थिए भने त्यसअघि उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स, निर्माण व्यवसायी र फुटवेयर एसोसिएसन लगायतसँग पनि छलफल गरिसकेका छन्।
यद्यपि, प्रधानमन्त्रीले गरिरहेका यी शृङ्खलाबद्ध छलफलहरूमा अर्थमन्त्री र सम्बन्धित विभागीय मन्त्रीहरूलाई भने सहभागी गराइएको छैन। विभागीय मन्त्रीहरूको अनुपस्थितिमा हुने यस्तो छलफलले चिया व्यवसायीका समस्या समाधानमा कस्तो ठोस नतिजा ल्याउँछ भन्ने कुरालाई चासोका साथ हेरिएको छ।
विराटनगर र आसपासका चिया व्यवसायीहरूले प्रधानमन्त्रीको यो सक्रियतालाई सकारात्मक रूपमा लिँदै भारतीय भन्सारमा हुने अवरोध हटाउन र नेपाली चियाको अन्तर्राष्ट्रिय बजारीकरणका लागि ठोस पहल हुने अपेक्षा राखेका छन्।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।