उदयपुर । उदयपुरका राजनीतिक दलहरुले संक्रमितको संख्या थपिँदै गएपछि जिल्लामा भयाबह अवस्था सिर्जना भएको भन्दै सरकारले ध्यानाकर्षण गराएका छन् ।
बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै राजनीतिक दलहरुले जिल्लाका संक्रमणको जोखिममा रहेका धार्मिक क्षेत्र, गाउँ र टोलमा परीक्षण विस्तार गर्न प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेकपा, नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले कोरोना परीक्षणको लागि आवश्यक सामाग्री जिल्ला स्वास्थ्य कार्यालयमा उपलब्ध गराउन पनि माग गरेका छन् । दलहरुले जोखिमबाट बच्न जिल्लाबासीलाई घरबाट बाहिर ननिस्कन पनि अपिल गरेका छन् ।
विज्ञप्तिमा नेकपाका जिल्ला अध्यक्ष विनोद कटुवाल, नेपाली काँग्रेसका सभापति विदुर बस्नेत, राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिब खेमनारायण यादव, समाजवादी पार्टीका अध्यक्ष केशब मगर र नेकपाका सचिब ईश्वरमणि राउतको हस्ताक्षर छ ।