विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङ्ग जिल्ला कमिटीले कोरोना जोखिमको बेला अग्रभागमा खटिने सुरक्षाकर्मीको लागि १ सय थान पीपीई हस्तान्तरण गरेको छ ।
जोखिमको समयमा अग्रभागमा रहेर खटिएका सुरक्षाकर्मीहरुको स्वास्थ्य सुरक्षाको लागि व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको नेकपाले जनाएको छ ।
शुक्रबार नेकपा मोरङ्गका अध्यक्ष ऋषिकेश पोखरेल र सचिब गणेश उप्रेतीले जिल्ला दैवी प्रकोप उद्धार समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई पीपीई हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सुरक्षाका दृष्टिकोणले पहिलो चरणमा नेपाल प्रहरीका लागि ५० थान र सशस्त्र प्रहरीका लागि ५० थान पीपीई हस्तान्तरण गरिएको पोखरेलले जानकारी दिनुभयो ।
एक पटकमा ४ घण्टा प्रयोग गर्न सकिने पीपीई अटोक्लिप भएकाले यसलाई पुनः पनि प्रयोगमा ल्याउन सकिने जनाईएको छ । कोरोना शंकास्पद वा संक्रमित बिरामीको सम्पर्कमा आएपछि २ घण्टा सुकाएर १ सय १० डिग्री तापक्रममा उमालेर स्यानिटाईज गरि यो पीपीई पुनः प्रयोग गर्न सकिने नेकपा मोरङ्गका सचिब उप्रेतीले जानकारी दिनुभयो ।