सुनसरी । पूर्वसभासद् शिवनारायण उराँवको सोमबार निधन भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ घर भएका पूर्वसभासद् उराँवको उपचारका क्रममा ६२ वर्षको उमेरमा निधन भएको हो ।
दुई दिनअगाडि हृदयाघात भएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका उराँवको उपचारका क्रममा निधन भएको नेपाली काँग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिनुभयो ।
लामो समयदेखि काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका उराँव २०४९ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नरसिंह गाविसको अध्यक्षसमेत हुनुभएको थियो । दोस्रो संविधानसभाको निर्वाचनका बेला उराँवलाई काँग्रेसले मनोनीत गरेको थियो ।
निधन भएका उराँवप्रति सङ्घीय सांसद सीताराम मेहता, पार्टीका जिल्ला सभापति तथा १ नं प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, सुनसरी क्षेत्र नं ४ का क्षेत्रीय सभापति तथा कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, क्षेत्रीय सचिव राजेन्द्रप्रसाद मेहताले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो ।