सुन्दरहरैचामा राष्ट्रपति रनिङ शिल्ड

विराटचौक, १९ फागुन । मोरडको सुन्दरहरैंचा नगरपालिकाको आयोेजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो संस्करण सोमबार सम्पन्न भएको छ ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथमा सञ्चालन भएको प्रतियोगितामा नगरभरिका १८ वटा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

सुकुना माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन नगरप्रमुख शिवप्रसाद ढकालले गर्नुभएको थियो । विद्यार्थीहरुमा पढाइको ज्ञानसँगै अतिरिक्त क्रियाकलाप पनि अनिवार्य रहेकोले प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ ।

नगरप्रमुख ढकालले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अनुशासित ढङ्गले सफलतापूर्वक सम्पन्न होस् भन्दै नगरले यस्ता महत्वपूर्ण खेलकुद विधालाई महत्व दिएर आवश्यक सहयोगसमेत गर्ने गरेको उल्लेख गर्नुभयो । १८ वर्षमुनिका विद्यार्थीहरुले भाग लिएको प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय सेवा दल अन्तर्गतका छात्रछात्राहरुले आर्कषक रुपमा मार्कपास गरेर सबै सहभागीहरुको मन तान्दै कार्यक्रमको शोभासमेत बढाएका थिए ।

प्रतियोगितामा छात्रछात्रा दुबैको भलिवल, कवडी, दौड, रिलेदौड तथा सटपुट, ट्रिपल जम्प, हाइजम्प, लङजम्प, ज्याभलिन थ्रोलगायत १५ विधा र ३० इभेन्टहरुमा खेल भएको सुकुना मा.वि का प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले बताउनुभयो । नगरस्तरीय प्रतियोगिता सम्पन्न भएपछि मोरङ जिल्लाका १७ वटा स्थानीय तहका १५ सय भन्दा बढी विद्यार्थीहरुको सहभागितामा फागुन २३ गते देखि ३ दिनसम्मका लागि जिल्लास्तरीय फाइनल प्रतियोगिता बेलबारीमा संचालन हुनेछ ।

नगरस्तरीय प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयहरुलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिएको छ ।

सोमबार, १९ फागुन, २०७६, रातीको ०८:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर