ओखलढुंगा, १९ फागुन । दोस्रो खिजीदेम्वा अल्ट्रा म्याराथुनको उपाधी धावक भीमबहादुर गुरुङ र रोजिना भण्डारीले जितेका छन् ।
गुरुङले पुरुषतर्फ र भण्डारीले महिलातर्फको उपाधी जितेका हुन् । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ५ को खिजिफलाँटेबाट सुरु भएको म्याराथुन सोलुखुम्बुको सिमानामा पर्ने भुलभुले पुगेर पुनः खिजिफलाँटेमै टुंगिएको थियो ।
म्याराथन दौडअन्तर्गत ४२ किलोमिटर दूरीमा पुरुष विधातर्फ गोरखा आरुघाटका ३७ वर्षीय भीमबहादुर गुरुङले तीन घण्ट ४९ मिनेटमा पूरा गरेका थिए । त्यस्तै महिला विधामा जुम्लाकी रोजिना भण्डारीले ४ घण्टा ५८ मिनेटमा दौड पूरा गर्दै विजेता बनेकी हुन् । रोजिना नेपाली सेनाकी धाविका हुन् भने नेपाली सेनाका अवकासप्राप्त भीमबहादुर अघिल्लो वर्षको पिकेदेम्वा हाफ म्याराथनका विजेता हुन् ।
पुरुष विधातर्फ गोपाल तामाङले ४ घण्टा ३ मिनेटमा निर्धारित दूरी पार गर्दै उपविजेता बने भने दुर्गा बुढाले ४ घण्टा ५ मिनेटमा निर्धारित दूरी पार गर्दै तेश्रो बने । महिलातर्फ यसअघि पिके–देम्वा हाफ म्याराथुनका विजेता हुमी बुढामगरले ५ घण्टा १८ मिनेटमा दौड पूरा गर्दै उपविजेतामा चित्त बुझाइन् भने स्थानीय धाविका सविना तामाङले ५ घण्टा ३२ मिनेटमा दौड पूरा गर्दै तेश्रो स्थान हासिल गरेकी छन् ।
म्याराथुनमा पुरुषतर्फ २४ र महिला १२ गरी जम्मा ३५ जना सहभागी थिए । साहसिक खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन विकासका लागि ओखलढुंगा पर्यटन विकास समितिले गत वर्षदेखि म्याराथुन आयोजना गरिएको संयोजक ङवाङ ङिमा शेर्पाले जानकारी दिनुभयो ।
विजेताले विधागत रुपमा क्रमशः ७० हजार, ५५ हजार, ४० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । विजेतालाई प्रतिनिभिसभाका सांसद यज्ञराज सुनुवारले पुरस्कार वितरण गर्नुभयो ।