विराटनगर, १९ फागुन । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. यादबराज कोइराला नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार प्रा.डा. कोइरालालाई उपकुलपति नियुक्त गर्नुभएको हो ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रहनुभएका कोइरालाको नियुक्तिसँगै ६ महिनादेखि खाली रहेको विश्वविद्यालयले नेतृत्व पाएको हो । विश्वविद्यालयमा निमित्त उपकुलपतिको जिम्मेवारी बिजुकुमार थपलियालाई दिइएको थियो ।
मृगौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयमा डा.कोइराला र मध्यपश्चिममा प्रा.डा. नन्दबहादुर सिंहलाई उपकुलपति नियुक्त गर्नुभएको हो । उनीहरू दुवै सत्तारुढ नेकपाको पूर्व एमाले खेमा निकट हुन् ।
सुदूरपश्चिम, संस्कृत, पोखरा र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भने अझै उपकुलपति पाएको छैन । लामो समय पदाधिकारी नहुँदा प्राज्ञिक परिषद् र नतिजा प्रकाशन लगायतमा काम रोकिदै आएको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति सिफारिस समिति र मध्यपश्चिम विश्वविद्यालयमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य उषा झाको अध्यक्षतामा सिफारिस समिति बनेको थियो । पूर्वाञ्चलमा झा र शिक्षा सचिव महेश दहाल सदस्य थिए । मध्यपश्चिममा दहाल र अर्थ सचिव राजन खनाल सदस्य थिए ।