पर्यटन प्रबद्र्धनको लागि म्याराथन

ताप्लेजुङ । पर्यटन प्रवद्र्धनको उद्देश्यसहित आगामी फागुन १३ गते ताप्लेजुङमा ‘पाथीभरा म्याराथन’ आयोजना हुने भएको छ । खुलातर्फ ५० र महिलातर्फ ४१ किलोमिटर दूरीको म्याराथन प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका संयोजक योगेन्द्रकुमार गुरुङका अनुसार खुलातर्फ पहिलो हुने धावकले १ लाख ५१ हजार, दोस्रोले १ लाख ११ हजार र तेस्रो हुनेले ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिलातर्फ पहिलो हुनेले ८१ हजार, दोस्रोले ५१ हजार र तेस्रो हुनेले ३१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

दुबै स्पर्धाका अन्य ७÷७ जनाले खेलाडीले पनि जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरस्कारको प्रायोजन हिमालयन गाइड्स ट्रेक्स एन्ड एक्सपिडिसन ग्रुपका प्रबन्धक पर्यटन व्यवसायी ईश्वरी पौडेलले गरेका हुन् ।

सदरमुकाम फुङ्लिङको तोक्मेडाँडाबाट सुरु हुने म्याराथन ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा पुगेर पुनः तोक्मेडाँडामा आएर सकिनेछ । तोक्मेबाट बजार परिक्रमा गरी सुकेटार हुँदै काफ्लेपाटी र काफ्लेपाटीबाट पाथीभरा मन्दिर पुग्नुपर्नेछ ।

प्रतियोगितामा सहभागी हुन देशभरका धावकलाई आह्वान गरिएको प्रचार विभाग प्रमुख खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । पाथीभरा म्याराथनको छैटौं संस्करण हुन लागेको हो । मेची पर्यटन महोत्सवको अवसर पारेर म्याराथन आयोजना गरिएको हो ।

शुक्रबार, ०९ फागुन, २०७६, दिउँसोको ०४:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर