लोड हुँदैछ...

मेनु

धनकुटामा २ हजार ५ सय परिवारलाई शुद्ध खानेपानी पुर्‍याउन नयाँ फिल्टर प्रणाली

धनकुटामा २ हजार ५ सय परिवारलाई शुद्ध खानेपानी पुर्‍याउन नयाँ फिल्टर प्रणाली

धनकुटा । धनकुटा बजारमा वितरण हुने खानेपानी शुद्धीकरणका लागि लहरेबरमा नयाँ सेडिमेन्टेसन र रफिङ फिल्टर ट्याङ्की निर्माण गरिएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको लागत साझेदारीमा प्रतिसेकेन्ड १० लिटर पानी शुद्धीकरण गर्न सक्ने क्षमताका दुईवटा संरचना निर्माण गरिएको हो ।

परियोजना निर्माणका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले ६४ लाख २८ हजार रुपैयाँ र उपभोक्ता समितिले १६ लाख ७ हजार रुपैयाँ लगानी गरेका छन् । कार्यालयले ११ लाख ५० हजार रुपैयाँ मूल्यका ६० हर्सपावर क्षमताका दुईवटा पानी तान्ने मोटर, गेट भल्भ र फ्लान्च सेटसमेत समितिलाई उपलब्ध गराएको छ ।

धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अर्जुन छाराका अनुसार २०७२ सालको भूकम्प तथा त्यसपछिका प्राकृतिक प्रकोपका कारण पुरानो फिल्टर प्रणाली क्षतिग्रस्त भएपछि नयाँ शुद्धीकरण प्रणाली निर्माण गरिएको हो ।

महँगो महसुल तिर्दा पनि पर्याप्त र शुद्ध खानेपानी नपाएको उपभोक्ताको गुनासो बढ्दै गएपछि त्यसलाई सम्बोधन गर्न नयाँ प्रणाली निर्माण गरिएको उनले बताए ।

सल्लेरी प्रणालीअन्तर्गत निर्माण गरिएको नयाँ शुद्धीकरण पूर्वाधारबाट धनकुटा नगरपालिकाका वडा नम्बर ५, ६ र ७ का करिब २ हजार ५ सय उपभोक्ता लाभान्वित हुने उपभोक्ता समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।