विराटनगर । बिहीबार नेप्से परिसूचक १४.१७ अंकले बढेर २ हजार ७२६.७२ विन्दुमा पुगेको छ । ६ कारोबार दिनपछि बुधबार करेक्सन भएको बजार बिहीबार इन्ट्रा–डे उतारचढावपछि अन्तिम समयमा सकारात्मक भएर बन्द भएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स ०.९८ अंक, फ्लोट इन्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२९ अंकले बढेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । बुधबार ५ अर्ब १८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बिहीबार ३३८ स्टकको ५७ हजार ७८२ पटकको कारोबारमा ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँबराबरको १ करोड ७७ हजार कित्ता शेयर किनबेच भएको छ ।
यस दिन एभरेष्ट कलर लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ७३ रुपैयाँ ८० पैसा बढेर ५६६ रुपैयाँ ६० पैसामा पुगेको छ ।
त्यस्तै, स्नो रिभर्सको शेयरमूल्य १३ प्रतिशतभन्दा बढी र एपोलो हाइड्रोपावरको शेयरमूल्य ११ प्रतिशतले बढेको छ । कारोबारमा आएको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक १५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको २८ करोड ३३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । आँखु खोला जलविद्युत कम्पनीको करिब २७ करोड ५० लाख रुपैयाँ र रिडी पावरको करिब २५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूह घटेका छन् । व्यापार उपसमूह सर्वाधिक २.५८ प्रतिशतले बढेको छ । जलविद्युत उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेको छ ।
लगानी र अन्य उपसमूहको परिसूचक भने सामान्य अंकले घटेको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।