लोड हुँदैछ...

मेनु

विद्युत् व्यापारमा नयाँ कीर्तिमान, एक वर्षमै १८ अर्ब ७६ करोड खुद बचत

विद्युत् व्यापारमा नयाँ कीर्तिमान, एक वर्षमै १८ अर्ब ७६ करोड खुद बचत

विराटनगर । नेपालले विद्युत् व्यापारबाट एक वर्षमै १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद बचत गरेको छ। नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ र समीक्षा वर्ष २०८२/८३ को क्रस–बोर्डर विद्युत् आयात–निर्यातसम्बन्धी तथ्याङ्कअनुसार विद्युत् निर्यात बढेसँगै आयात घट्दा नेपालले विद्युत् व्यापारमा यस्तो ऐतिहासिक बचत हासिल गरेको हो।

समीक्षा वर्ष २०८२/८३ मा भारत तथा बङ्गलादेशतर्फ विद्युत् निर्यातबाट नेपालले २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नेपालले २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो। समीक्षा वर्षमा निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ।

भारतीय खुला बजारअन्तर्गत आईईएक्स–डीएएम, आईईएक्स–आरटीएम र एनभीभीएन तथा बङ्गलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापारमार्फत नेपालले औसत ७ रुपैयाँ ५६ पैसा प्रतियुनिटका दरले विद्युत् बिक्री गरेको हो।

विद्युत् निर्यात बढेको मात्र होइन, बाह्य स्रोतबाट हुने आयातसमेत उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्षमा नेपालले १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गरेको थियो। त्यसबापत १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो।

समीक्षा वर्षमा विद्युत् आयात ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ। आयात परिमाण घटेसँगै आयातमा हुने खर्चसमेत १८.२९ प्रतिशतले घटेको छ। समीक्षा वर्षमा विद्युत् आयातमा १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँ खर्च भएको छ।

यसरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको विद्युत् निर्यात आम्दानीबाट १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको आयात खर्च घटाउँदा नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत गरेको हो।

अघिल्लो आर्थिक वर्षमा विद्युत् व्यापारबाट नेपालको खुद बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्रै थियो। समीक्षा वर्षमा खुद बचत ३१३ प्रतिशतले बढेको छ। अर्थात् अघिल्लो वर्षको तुलनामा विद्युत् व्यापारबाट भएको बचत चार गुणाभन्दा बढी पुगेको छ।

देशभित्र जलविद्युत् उत्पादनमा भएको वृद्धि, सीमापार प्रसारण लाइनको विस्तार तथा ऊर्जा व्यवस्थापनमा भएको सुधारका कारण नेपाल विद्युत् आयातमा निर्भर मुलुकबाट क्रमशः विद्युत् निर्यात गर्ने राष्ट्रका रूपमा अघि बढेको हो।

पछिल्लो तथ्याङ्कले नेपालले दक्षिण एसियाली ऊर्जा बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गएको र विद्युत् व्यापारबाट विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण आधार तयार भएको देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।