लोड हुँदैछ...

मेनु

दमकमा खुकुरी प्रहार गरी श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या

दमकमा खुकुरी प्रहार गरी श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या

विराटनगर । झापाको दमकमा श्रीमान्–श्रीमतीबीचको घरायसी विवादले दम्पतीकै ज्यान गएको छ । दमक नगरपालिका–१ सिरपाली चोकका ४२ वर्षीय धनबहादुर दर्जीले बुधबार दिउँसो खुकुरी प्रहार गरी आफ्नी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार दिउँसो करिब २ बजे घरायसी विषयमा विवाद भएपछि धनबहादुरले विजयकुमारीमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो ।

श्रीमतीमाथि खुकुरी प्रहार गरेपछि धनबहादुर घरकै अर्को कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए । उनकी २५ वर्षीया छोरी प्रियंका दर्जीले बाबुलाई झुन्डिएको देखेपछि पासो काटेर तल झारेकी थिइन् ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले दुवै जनालाई उद्धार गरी उपचारका लागि दमक अस्पताल पुर्‍याएको थियो ।

तर, चिकित्सकले अपराह्न करिब ३ः३० बजे दुवैलाई मृत घोषणा गरेका थिए । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै शव पोस्टमार्टमका लागि दमक अस्पतालमै राखेको जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा दम्पतीबीच विगतदेखि नै पटक–पटक घरायसी विवाद हुने गरेको खुलेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेत नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।