लोड हुँदैछ...

मेनु

विराटनगरमा पुजारीको नाममा दर्ता भएको काली मन्दिरको जग्गा खाली गरियो

विराटनगरमा पुजारीको नाममा दर्ता भएको काली मन्दिरको जग्गा खाली गरियो

विराटनगर । विराटनगरको मुख्य बजार क्षेत्रमा रहेको ऐतिहासिक काली मन्दिरको नाममा रहेको जग्गा र त्यसमा बनेको भवन अदालतको फैसला कार्यान्वयन गर्दै खाली गराइएको छ ।

उच्च अदालत विराटनगरको फैसला कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार बिहान मन्दिरको जग्गा र भवन खाली गराई काली मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

विराटनगर मेनरोडको पश्चिमतर्फ श्रीकाली प्रीतय धर्मशालासँगै रहेको करिब साढे १२ धुर जग्गा २०४२ सालको नापीका क्रममा तत्कालीन मन्दिरका पुजारी केशवप्रसाद ढकालको नाममा दर्ता भएको थियो । त्यसपछि उक्त जग्गामा निजी आवास निर्माण गरी भोगचलन हुँदै आएको थियो ।

पुजारी ढकालको निधनपछि उनकी श्रीमती उमादेवी ढकालले जग्गा आफ्नो नाममा नामसारी गरी बिक्री गर्न खोजेपछि उक्त जग्गा मन्दिरकै स्वामित्वमा रहेको विषय बाहिर आएको थियो । त्यसपछि काली मन्दिर व्यवस्थापन समितिले जग्गा फिर्ता ल्याउन कानुनी प्रक्रिया अघि बढाएको थियो ।

लामो कानुनी प्रक्रियापछि अदालतले उक्त जग्गा काली मन्दिरकै सम्पत्ति भएको ठहर गर्दै मन्दिर व्यवस्थापन समितिको पक्षमा फैसला गरेको थियो । अदालतको फैसला कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार घरजग्गा खाली गराएको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले अदालतको आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गरी जग्गा र भवन मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको जानकारी दिए ।
मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष डा.मीनाक्षी नेपालले खाली गराइएको भवनको आवश्यक मर्मत–सम्भार गरी धर्मशालाका रूपमा सञ्चालन गर्ने तयारी रहेको बताइन् ।

धार्मिक तथा सामाजिक प्रयोजनका लागि आउने श्रद्धालु तथा पाहुनालाई लक्षित गरी भवनको उपयोग गरिनेछ । विराटनगरको पुरानो तथा महत्वपूर्ण धार्मिक सम्पदाका रूपमा रहेको काली मन्दिरको जग्गामाथिको लामो विवाद अदालतको फैसलापछि टुंगिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।