विराटनगर । आर्थिक वर्ष २०८२/८३ (साउन–असार) को वार्षिक वैदेशिक व्यापार तथ्याङ्क सार्वजनिक भएको छ । सार्वजनिक विवरण अनुसार नेपालको व्यापार घाटा अझै पनि चुनौतीपूर्ण अवस्थामा देखिएको छ । समीक्षा अवधिमा नेपालको कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार गत एक वर्षमा नेपालले कुल २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यसको तुलनामा निर्यातको हिस्सा निकै न्यून देखिएको छ । नेपालले सोही अवधिमा जम्मा ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख रुपैयाँ बराबरको वस्तु मात्र निर्यात गर्न सकेको छ । आयातको तुलनामा निर्यातको आकार करिब सात गुणा सानो छ, जसले वैदेशिक व्यापारमा नेपालको परनिर्भरता स्पष्ट पार्दछ ।
नेपालको आयात सूचीमा सधैँझैँ यस वर्ष पनि पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो देखिएको छ । च्याप्टर २७ अन्तर्गत पर्ने ‘मिनरल फ्युल र आयल’ को आयात ३ खर्ब ८६ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । यसैगरी, दोस्रो ठूलो आयात हुने वस्तुमा वनस्पति घ्यू तथा तेल रहेको छ, जसको आयात १ खर्ब ७९ अर्ब ६३ करोड रुपैयाँ बराबरको छ ।
मेसिनरी तथा मेकानिकल उपकरणहरू १ खर्ब ५६ अर्ब, फलाम तथा स्टिल १ खर्ब ४१ अर्ब, र विद्युतीय मेसिनरी तथा उपकरणहरू १ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको आयात भएको देखिन्छ । सवारी साधन र तिनका पार्टपुर्जाहरूको आयातमा पनि १ खर्ब २४ अर्ब रुपैयाँ खर्च भएको छ ।
निर्यातको अवस्था: वनस्पति तेल र चिया–मसलाको अग्रता
निर्याततर्फ नेपालले केही सिमित वस्तुहरूमा मात्रै राम्रो उपस्थिति जनाएको छ । निर्यातमा सबैभन्दा ठूलो हिस्सा वनस्पति बोसो र तेलको रहेको छ । यस्ता वस्तुहरू १ खर्ब ४८ अर्ब ९७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, जुन कुल निर्यातको झन्डै आधा हिस्सा हो ।
त्यस्तै, नेपालको मौलिक उत्पादन मानिने चिया, कफी र मसला १८ अर्ब ७५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । म्यान-मेड स्टेबल फाइवर १५ अर्ब ५१ करोड र खाद्य उद्योगका अवशेष तथा पशु आहार १० अर्ब २६ करोड रुपैयाँ बराबरको निर्यात भएको देखिन्छ । काठ र काठका सामानहरू पनि करिब ९ अर्ब ८७ करोडको निर्यात भएको छ ।
आयातमा आधारित अर्थतन्त्र भएका कारण सरकारले आयातबाटै ठूलो मात्रामा राजस्व संकलन गरेको छ । समीक्षा अवधिमा आयातबाट मात्रै ५ खर्ब ६ अर्ब ८९ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
समग्रमा, नेपालको निर्यात आधार निकै कमजोर हुँदा व्यापार सन्तुलन ऋणात्मक छ । पेट्रोलियम पदार्थ, फलाम, र विलासी सवारी साधनको उच्च आयातले विदेशी मुद्रा सञ्चितिमा दबाब सृजना गरेको देखिन्छ । निर्यात प्रवर्द्धनका लागि कृषिजन्य र हस्तकलाका वस्तुहरूका साथै तुलनात्मक लाभ भएका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने आवश्यकता यो तथ्याङ्कले औँल्याएको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।