लोड हुँदैछ...

मेनु

भोजपुरमा १० करोड लागतमा आधुनिक कृषि उपज संकलन तथा बिक्री केन्द्र बन्ने

भोजपुरमा १० करोड लागतमा आधुनिक कृषि उपज संकलन तथा बिक्री केन्द्र बन्ने

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब १० करोड रुपैयाँको लागतमा आधुनिक कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ। स्थानीय कृषकलाई बजारसँग प्रत्यक्ष जोड्दै कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको हो।

भारत सरकारको सहयोगमा निर्माण हुने परियोजनाको कुल लागत ९ करोड ८८ लाख ६७ हजार ७८५ रुपैयाँ रहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार परियोजनाको ९५ प्रतिशत लागत भारतीय दूतावासले व्यहोर्नेछ भने बाँकी पाँच प्रतिशत तथा मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले बेहोर्नेछ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन प्रणाली, कृषि उपज संकलन स्थल, ग्रेडिङ (वर्गीकरण) तथा प्राथमिक प्रशोधन सुविधा रहनेछन्। केन्द्र सञ्चालनमा आएपछि तरकारी, फलफूललगायत स्थानीय कृषि उत्पादनको संकलन, भण्डारण र बजारीकरण थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

हाल बजार व्यवस्थापनको अभावमा किसानले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको भन्दै गाउँपालिकाले केन्द्र सञ्चालनपछि कृषकले उत्पादनको उचित मूल्य पाउने विश्वास व्यक्त गरेको छ। साथै स्थानीय उत्पादनलाई बाह्य बजारसम्म सहज रूपमा पुर्‍याउन पनि यसले सहयोग गर्ने जनाइएको छ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले लामो समयदेखिको पहल र समन्वयपछि आयोजना कार्यान्वयनको चरणमा पुगेको बताए। उनले यसलाई गाउँपालिकाको गौरवको परियोजनाका रूपमा लिइएको उल्लेख गर्दै केन्द्र निर्माणपछि कृषकलाई उत्पादन बिक्रीका लागि सहज वातावरण सिर्जना हुने बताए।

उनका अनुसार परियोजनाले कृषि क्षेत्रमा व्यावसायिकता विस्तार, स्थानीय रोजगारी सिर्जना, युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने तथा आधुनिक कृषि प्रविधिको प्रयोग बढाउने लक्ष्य राखेको छ। साथै कृषि पूर्वाधार विकास, व्यापारिक गतिविधि विस्तार र स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाले चालु आर्थिक वर्षभित्रै निर्माण सम्झौता गरी काम सुरु गर्ने तयारी गरेको जनाएको छ। समयमै आयोजना सम्पन्न भए टेम्केमैयुङ गाउँपालिका कृषि उत्पादनको संकलन, भण्डारण र बजारीकरणको प्रमुख केन्द्रका रूपमा विकास हुने तथा कृषिमा आधारित उद्यम, बसाइँसराइ न्यूनीकरण र स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोगमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।