विराटनगर । अविरल वर्षासँगै बाढी, पहिरो र सडक दुर्घटनाको जोखिम बढेपछि कोशी प्रदेशका धनकुटा, खोटाङ, पाँचथर र इलाम जिल्ला प्रशासन कार्यालयले शनिबार रातिदेखि रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएका छन्।
सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न प्रशासनहरूले पूर्वसतर्कतास्वरूप यस्तो निर्णय गरेका हुन्।
धनकुटा जिल्ला प्रशासन कार्यालयले शनिबार बेलुका ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म भेडेटार–रवि–राँके सडक खण्ड, तमोर करिडोरअन्तर्गत मुलघाटदेखि पाँचथर सिमाना तथा भेडेटारबाट तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको छ। भेडेटारबाट धनकुटातर्फ चल्ने सवारी भने सञ्चालनमा रहने जनाइएको छ।
यस्तै, खोटाङ जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवा–दिक्तेल–जयरामघाट सडक र जिल्लाका सहायक सडकहरूमा शनिबार बेलुका ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म आपतकालीन सवारीबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
पाँचथर जिल्ला प्रशासन कार्यालयले पनि सोही अवधिमा मेची राजमार्ग, तमोर करिडोर, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, फिदिम–फालोट, राँके–रवि तथा जोरसाल–मेमेङ सडकसहित जिल्लाका मुख्य तथा भित्री सडकमा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेको छ। स्थानीय तहले आवश्यकता अनुसार अन्य सडकमा पनि प्रतिबन्ध लगाउन सक्ने जनाएको छ।
इलाम जिल्ला प्रशासन कार्यालयले पनि मेची राजमार्ग, मेची करिडोरलगायत जिल्लाभित्रका सबै सडकमा शनिबार बेलुका ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको जनाएको छ।
प्रशासनहरूले अत्यावश्यक कामबाहेक रातिको यात्रा नगर्न, खोला, खहरे र नदी आसपासका बस्ती तथा पहिरोको उच्च जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। साथै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई सम्भावित उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशसहित देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना औंल्याएपछि सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न प्रशासनहरूले रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेका हुन्।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।