लोड हुँदैछ...

मेनु

विजयपुरको ऐतिहासिक समाधिस्थलमा चिहान भत्काइएपछि चासो, दोषी पत्ता लगाउन माग

विजयपुरको ऐतिहासिक समाधिस्थलमा चिहान भत्काइएपछि चासो, दोषी पत्ता लगाउन माग

धरान । याक्थुङ लिम्बू समुदायको ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्र मानिने धरान–१४ स्थित विजयपुरको पञ्चकन्या जङ्गलमा रहेका पुराना समाधिस्थलका चिहानहरू भत्काइएको घटनाले धरानमा व्यापक चासो र चर्चा पाएको छ ।

वैशाखे पूर्णिमाअघि सुरक्षित अवस्थामा रहेका सयौँ चिहानमध्ये करिब दुई दर्जन चिहान भत्काइएको, माथि गाडिएका ढुङ्गा उखेलेर फालिएको र समथर बनाइएको अवस्था फेला परेको छ । विजयपुर क्षेत्र याक्थुङ लिम्बू समुदायको इतिहाससँग प्रत्यक्ष रूपमा जोडिएकाले घटनालाई गम्भीर रूपमा हेरिएको छ ।

स्थानीय अभियन्ता अमित थेबेका अनुसार उक्त क्षेत्रमा करिब पाँच सयभन्दा बढी चिहान रहेका छन् । भत्काइएका चिहानहरू खेवा, जवेगु, थेगिम, देवाहाङ, खजुम, कन्दङवा तथा चौबिसे लिम्बू समुदायसँग सम्बन्धित सय वर्षभन्दा पुराना समाधिस्थल भएको बताइएको छ ।

घटनापछि चिहान खनेर ऐतिहासिक सामग्री, पुराना सिक्का, गहना वा अन्य बहुमूल्य वस्तु खोज्ने समूह सक्रिय भएको हुनसक्ने आशंका पनि गरिएको छ । यद्यपि चिहान कसले र किन भत्कायो भन्ने विषय अझै खुल्न सकेको छैन ।

किरात याक्थुङ चुम्लुङ धरानका अध्यक्ष तीर्थराज मादेम्बाले समाधिस्थल तोडफोड गैरकानुनी कार्य भएको भन्दै दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन् । चुम्लुङले घटनाबारे धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालयलाई जानकारी गराइसकेको जनाएको छ ।

चुम्लुङले भत्काइएका समाधिहरू पूर्ववत् अवस्थामा पुनः संरक्षण गर्न र ऐतिहासिक सम्पदामाथि भएको क्षतिको अनुसन्धान गरी जिम्मेवार व्यक्तिलाई कारबाही गर्न माग गरेको छ ।

धरान–१४ का वडाध्यक्ष कृष्ण भट्टराईले घटनाबारे औपचारिक जानकारी नआएको बताउँदै सरोकारवालासँग समन्वय गरेर आवश्यक संरक्षणका कदम चालिने बताए । इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राईले पनि घटनाबारे बुझ्ने र अनुसन्धान गर्ने काम भइरहेको जानकारी दिएका छन् ।

विजयपुर क्षेत्र याक्थुङ लिम्बू इतिहास, संस्कृति र पुरातात्त्विक सम्पदाको महत्वपूर्ण केन्द्र मानिन्छ । त्यसैले ऐतिहासिक समाधिस्थलमा भएको तोडफोडले स्थानीयवासी, इतिहासकार तथा समुदायका अगुवाहरूको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।