लोड हुँदैछ...

मेनु

वरुण नदीमा प्रस्तावित १३२ मेगावाट आयोजना रोक्न स्थानीयको माग

वरुण नदीमा प्रस्तावित १३२ मेगावाट आयोजना रोक्न स्थानीयको माग

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ स्थित सिम्बुङ र स्याक्सिलाका स्थानीय बासिन्दा तथा सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरूले वरुण नदी क्षेत्रमा निर्माण प्रस्ताव गरिएको १३२ मेगावाट क्षमताको ‘तल्लो वरुण खोला जलविद्युत् आयोजना’ तत्काल रोक्न माग गरेका छन्।

आयोजनाविरुद्ध आन्दोलनमा उत्रिएका स्थानीयहरूले बिहीबार मकालु–वरुण राष्ट्रिय निकुञ्ज प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै परियोजना स्थगनका लागि पहल गर्न अनुरोध गरेका हुन्। ललितपुरस्थित एम्पिक इनर्जी प्रालिले स्थानीय समुदायको वास्तविक सहमति नलिई र सार्वजनिक सुनुवाइ प्रक्रिया पारदर्शी रूपमा पूरा नगरी विद्युत् विकास विभागबाट अनुमति लिएको उनीहरूको आरोप छ।

लोम्ब तेम्बाङ्ग मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष डुक्पा थिक्पा भोटेको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा वरुण नदी हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको साझा धार्मिक आस्था र सांस्कृतिक पहिचानको केन्द्र रहेको उल्लेख छ। स्थानीयका अनुसार यहाँ माघ १ गते लाग्ने मेलामा नेपालका विभिन्न भागसँगै भारत र चीनबाट पनि श्रद्धालुहरू पूजा र स्नानका लागि आउने गर्छन्।

स्थानीय समुदायले आफूहरू परम्परादेखि नै खेतीपाती, पशुपालन, जडीबुटी संकलन र प्राकृतिक स्रोतमा आधारित जीवनयापन गर्दै आएको लोपोन्मुख भोटे आदिवासी जनजाति भएको बताएका छन्। आयोजना सञ्चालन भएमा १९२ घरधुरी प्रत्यक्ष प्रभावित हुने र ६२ घरधुरी विस्थापित हुन सक्ने उनीहरूको दाबी छ।ज्ञापनपत्रमा आयोजना क्षेत्र मकालु–वरुण राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने भएकाले रेड पाण्डा, हिउँ चितुवा, हिमाली कालो भालु, कस्तुरी मृग, डाँफे, मुनाल लगायत दुर्लभ वन्यजन्तुको वासस्थानमा असर पुग्ने उल्लेख गरिएको छ। सडक निर्माण, विस्फोट र वन विनाशले जैविक विविधता तथा बहुमूल्य जडीबुटीहरूमा दीर्घकालीन क्षति पुर्‍याउने स्थानीयको भनाइ छ।

स्थानीयहरूले नेपालको संविधानले सुनिश्चित गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार, सांस्कृतिक संरक्षणको अधिकार र आदिवासी जनजातिको हकसम्बन्धी व्यवस्थालाई आयोजनाले बेवास्ता गरेको आरोप लगाएका छन्। साथै जैविक विविधता महासन्धि तथा आदिवासी अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रावधानहरूको उल्लंघन भएको पनि उनीहरूको दाबी छ।

‘विकासका नाममा केही सीमित व्यावसायिक समूहलाई लाभ पुर्‍याउन वातावरण, नदी प्रणाली, वन्यजन्तु र स्थानीय समुदायको अस्तित्वमाथि प्रहार गर्न हुँदैन,’ अध्यक्ष भोटेले भने।

ज्ञापनपत्रमार्फत स्थानीयले वरुण नदीको धार्मिक, सांस्कृतिक, पर्यावरणीय र जैविक महत्वलाई ध्यानमा राखी आयोजना तत्काल रोक्न माग गरेका छन्। माग पूरा नभए आस्था, संस्कृति र प्राकृतिक सम्पदाको संरक्षणका लागि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।