काठमाडौँ । विश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ ९फिफा विश्वकप० बिहीबार मध्यरातिदेखि औपचारिक रूपमा सुरु हुँदै छ। विश्वकपको ज्वरोले यतिबेला नेपालसहित पूरै विश्वलाई छपक्कै छोपेको छ। नेपालका सहरदेखि गाउँसम्म फुटबल समर्थकहरू आफ्नो मनपर्ने टिमको जर्सी खरिद गर्न र खेल हेर्ने योजना बनाउन व्यस्त छन्। होटल र रेस्टुरेन्टहरूले पनि यस अवसरमा विशेष योजनाहरू ल्याएका छन्।
इतिहासमै पहिलो पटक तीनवटा देश— अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा विश्वकप आयोजना गर्दै छन्। यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले मात्र संयुक्त आयोजना गरेका थिए। यस पटक अमेरिका, क्यानडा र मेक्सिकाका १८ भव्य रङ्गशालामा खेलहरू हुनेछन्। विश्वको कुल जनसङ्ख्यामध्ये ५८ प्रतिशतले यो प्रतियोगिता हेर्ने अनुमान गरिएको छ। सन् २०३० को विश्वकप पनि पोर्चुगल, स्पेन र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्ने पक्का भइसकेको छ।
यस पटकको विश्वकपमा टोली सङ्ख्या बढाइएको छ। विगतको तुलनामा १६ राष्ट्र थपेर कुल ४८ टोली पुर्याइएको छ। केप भेर्डे, कुराकाओ, उज्बेकिस्तान र जोर्डन यस पटकका नवप्रवेशी राष्ट्र हुन्। टोली सङ्ख्या बढेसँगै खेलको सङ्ख्या पनि १०४ पुगेको छ, जुन विश्वकप इतिहासकै सबैभन्दा बढी हो। ३९ दिनसम्म चल्ने यो प्रतियोगिताको उद्घाटन खेल जुन ११ मा मेक्सिकोको प्रसिद्ध ‘एस्टाडियो एज्टेका’ रङ्गशालामा घरेलु टोली र दक्षिण अफ्रिकाबीच हुनेछ। फाइनल खेल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ, जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेतालाई ट्रफी प्रदान गर्नेछन्।
कुल १०४ खेलमध्ये अमेरिकामा सबैभन्दा बढी ७६ खेल हुनेछन्। अमेरिकाका ११ सहर ९न्युयोर्क, बोस्टन, मियामी, फिलाडेल्फिया, एटलान्टा, डलास, ह्युस्टन, कान्सास, लस एन्जलस, सान फ्रान्सिस्को र सियाटल० मा क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलसहितका खेलहरू हुनेछन्। मेक्सिकोका तीन सहर ९मेक्सिको सिटी, मोन्टेरे र ग्वाडालाजारा० मा १३ खेल र क्यानडाका टोरन्टो र भ्यानकुभरमा १३ खेल सञ्चालन हुनेछन्। मेक्सिकोले तेस्रो पटक र अमेरिकाले दोस्रो पटक विश्वकप आयोजना गर्दै छन् भने क्यानडाका लागि यो पहिलो अनुभव हो।
उपाधिको होडमा यसपालि स्पेन र फ्रान्सलाई प्रमुख दाबेदार मानिएको छ। साविक विजेता अर्जेन्टिना, इङ्ग्ल्यान्ड, जर्मनी, पोर्चुगल, ब्राजिल र नेदरल्यान्ड्स पनि बलिया दाबेदार हुन्। मैदानमा नेमार, एमबाप्पे, लामिन यामाल, हालान्ड र सलाहजस्ता स्टारहरूको चमक देखिनेछ। तर, सबैको नजर लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोमा हुनेछ, जो आफ्नो छैटौँ तथा सम्भवतः अन्तिम विश्वकप खेल्दै छन्। तथापि, चोट वा टोली छनोट नहुँदा फ्रान्सका ह्युगो एकिटिके, ब्राजिलका रोड्रिगो र एडर मिलिटाओ, इङ्ग्ल्यान्डका कोल पाल्मर र फिल फोडेन, पोल्यान्डका रोबर्ट लेवान्डोस्की जस्ता केही उत्कृष्ट खेलाडीहरू भने यस पटक मैदानमा देखिने छैनन्।
यस पटकको विश्वकपमा कूटनीतिक चिसोपना, यात्रा प्रतिबन्ध, इरानसँगको युद्धको त्रास र अत्यधिक गर्मी मुख्य चुनौतीका रूपमा रहेका छन्। टिकटको मूल्य पनि अहिलेसम्मकै महँगो छ। तर, पुरस्कार राशिमा भने भारी वृद्धि गरिएको छ। कुल ६५५ मिलियन डलर पुरस्कार राशि रहेको यस प्रतियोगिताको च्याम्पियनले ५० मिलियन डलर प्राप्त गर्नेछ, जुन कतार विश्वकपको तुलनामा ४९ प्रतिशतले बढी हो।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।