लोड हुँदैछ...

मेनु

हिमालय दर्शन कलेजका ११४ विद्यार्थी दीक्षित

हिमालय दर्शन कलेजका ११४ विद्यार्थी दीक्षित

विराटनगर– विराटनगरस्थित हिमालय दर्शन कलेजका ११४ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले मंगलबार एक विशेष समारोह आयोजना गरी बिएचएम (BHM), बीसीए (BCA), बीआईएम (BIM), बिविएस ( BBS) र बीएससी सीएसआईटी (BSc CSIT) तह पूरा गरेका विद्यार्थीहरूलाई दीक्षित गरेको हो ।

दीक्षान्त समारोहका प्रमुख अतिथि प्रा.डा. अजय भट्टराईले दीक्षित विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राको शुभकामना दिए । उनले वर्तमान समयमा सैद्धान्तिक ज्ञानसँगै रोजगारमुखी शिक्षा अपरिहार्य रहेको औंल्याए । “अबको शिक्षा केवल प्रमाणपत्रका लागि मात्र नभई व्यवहारिक र रोजगारमुखी हुनुपर्छ,” डा. भट्टराईले भने, “बजारको मागअनुसारको दक्ष जनशक्ति उत्पादनमा शैक्षिक संस्थाहरूले ध्यान दिनुपर्छ ।”

कलेजका प्राचार्य भरत सापकोटाले हिमालय दर्शन कलेजले गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै आएको बताए । उनले कलेजले त्रिभुवन विश्वविद्यालयको निर्दिष्ट पाठ्यक्रमबाहेक अतिरिक्त सीपमूलक (नन–क्रेडिट) कक्षामा समेत ध्यान दिएकाले यहाँका विद्यार्थीहरू स्वदेश र विदेशमा प्रतिस्पर्धा गर्न सक्षम रहेको दाबी गरे । सापकोटाले भने, “हामीले विद्यार्थीलाई केवल किताबी ज्ञानमा मात्र सीमित राखेनौं, समाज र देशका लागि आवश्यक अब्बल सीप र नेतृत्व क्षमता पनि प्रदान गरेका छौं ।”

कलेजका अध्यक्ष ज्ञानबहादुर खड्काले विद्यार्थीहरूलाई स्पष्ट सपना र लक्ष्य लिएर अघि बढ्न प्रेरित गर्दै सफलताको शुभकामना व्यक्त गरे । समारोहमा विभिन्न विधामा उत्कृष्ट अंक ल्याउने तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई कलेजका तर्फबाट सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा कलेजका सञ्चालकहरू शैलेन्द्र शिवाकोटी, भेषराज पोखरेल, लक्ष्मण ढकाल, लगायतको उपस्थिति थियो । त्यसैगरी कलजेका ओर्डीनेटरहरु भुपाल मिश्र, सुमित कुमार साह, कुशल निरौला, अन्जु भुजेल, जिवन निरौलालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।