काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निमोनियाको समस्यापछि अस्पताल भर्ना भएका छन्।
शनिबार बिहान उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनका मुख्य स्वकीय सचिव तथा प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन्।
आचार्यका अनुसार प्रचण्डलाई पछिल्ला दुई–तीन दिनदेखि ज्वरो र रुघाखोकीको समस्या देखिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा निमोनियाको लक्षण देखिएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको हो।
स्वास्थ्यमा समस्या देखिएकै कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा सहभागी हुन सकेका थिएनन्। त्यस्तै, सरकारले बजेट प्रस्तुत गर्दा संसद् बैठकमा पनि उनी अनुपस्थित रहेका थिए।
हाल उपचार जारी रहेको र स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको आचार्यले बताएका छन्। अस्पतालमा केही दिन चिकित्सकको निगरानीमा राखेर उपचार गराइने जनाइएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।