विराटनगर । भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएको विध्वंशमा संलग्नताबारे राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका करिब डेढ दर्जन सांसदमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।
आयोगले बुधवार सार्वजनिक गरेको २९ पेजको संक्षेप प्रतिवेदनमा भदौ २३ को जेनजी आन्दोलन हिंसात्मक बनाउनुमा रास्वपा सांसद एवं निवर्तमान गृहमन्त्री सुधन गुरुङको भूमिका शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न सिफारिस गरेको छ।
प्रतिवेदनमा देशभरका कारागारबाट कैदी बन्दी बाहिरिनुमा नख्खु कारागारमा रहेका रवि लामिछाने निस्कनु फौजदारी अपराध भएको भन्दै अनुसन्धान गर्न भनेको छ। यस्तै लामिछानेलाई जेललबाट निकाल्ने भूमिकामा रहेका रास्वपा सांसदहरु हरि ढकाल, मनिष झा र ज्वाला संग्रौलामाथि पनि अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ ।
प्रतिवेदनमा आन्दोलनको समर्थक र उक्साउन भूमिका खेल्नेहरूको सूचीमा अधिकांश रास्वपाका सांसदहरूको नाम छ। आयोगको प्रतिवेदनमा भदौ २३ र २४ गतेको प्रदर्शन आयोजना गरेपनि हिंसात्मक हुनबाट रोक्न भूमिका नदेखिएको भन्दै पुरुषोत्तम यादव र सुधन गुरुङमाथि अनुसन्धान गर्न भनेको छ। उनीहरु दुबै रास्वपा सांसद हुन् ।
आन्दोलनलाई उत्तेजित बनाउने भूमिका देखिएको भन्दै आयोगले रास्वपाका सांसदहरु गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिश झा, ज्वाला सङ्ग्रौलासहितमाथि छानबिन गर्न सिफारिस गरेको छ। यस्तै, आशिका तामाङ, शिव यादव, सोम शर्मामाथि पनि छानविन गर्न भनिएको छ ।
प्रतिवेदनमा रास्वपा केन्द्रीय सदस्य खेमराज साउद र बाजुराबाट रास्वपा उम्मेदवार बनेका हेमराज थापालाई पनि अनुसन्धान गर्न भनिएको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।