लोड हुँदैछ...

मेनु

कोशी अस्पतालमा चस्मा पसल सञ्चालन, स्वास्थ्य बीमाबाटै पाइने भयो सुलभ सेवा

कोशी अस्पतालमा चस्मा पसल सञ्चालन, स्वास्थ्य बीमाबाटै पाइने भयो सुलभ सेवा

विराटनगर । सरकारी अस्पतालमा स्वास्थ्य बीमा गराएका बिरामीले अब चस्माका लागि निजी पसल धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । विराटनगरस्थित कोशी अस्पतालको आँखा विभागले बुधबारदेखि आफ्नै ‘अप्टिकल पसल’ (चस्मा पसल) सञ्चालनमा ल्याएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरीले बुधबार एक समारोहका बीच चस्मा पसलको उद्घाटन गरे । यससँगै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीले बीमाकै सुविधाअन्तर्गत अस्पतालभित्रैबाट चस्मा प्राप्त गर्न सक्नेछन् ।

आँखा विभागका प्रमुख डा. शक्तिप्रसाद सुवेदीका अनुसार स्वास्थ्य बीमा गरेका बिरामीले बीमा बोर्डले तोकेको मापदण्डअनुसार एक हजार रुपैयाँ बराबरको चस्मा निस्शुल्क प्राप्त गर्नेछन् । “बीमा भएकाहरूले प्याकेजअनुसारको चस्मा पाउनेछन् भने बीमा नभएका सर्वसाधारणलाई पनि बजारको तुलनामा सहुलियत दरमा उपलब्ध गराइनेछ,” डा. सुवेदीले भने, “अस्पतालमा चस्मा पसल नहुँदा बिरामीलाई बाहिर रिफर गर्नुपर्ने अवस्था थियो, अब त्यो हटेको छ ।”

अस्पतालको आँखा विभागमा अहिले दैनिक औसत ४० जना बिरामीले ओपीडी सेवा लिइरहेका छन् । तीमध्ये ठुलो संख्यामा बिरामीलाई चस्मा लगाउनु पर्ने अवस्था देखिने गरेको अस्पतालले जनाएको छ । विभागले हाल चस्मा जाँचसँगै आँखाका जटिल रोग पत्ता लगाउन ‘बी स्क्यान’, ‘भिजुअल फिल्ड’ र आँखाको चाप नाप्ने (इन्ट्राओकुलर प्रेसर) जस्ता आधुनिक डायग्नोस्टिक सेवाहरू प्रदान गर्दै आएको छ । यस्तै, मोतिविन्दुको नियमित शल्यक्रिया पनि अस्पतालमै हुँदै आएको छ ।

सेवा विस्तार गरे पनि अस्पतालमा प्राविधिक जनशक्तिको भने अभाव देखिएको छ । विभागमा चिकित्सकहरू पर्याप्त भए पनि चस्मा जाँच गर्ने अप्टोमेट्रिस्ट, अप्टिकल फिटर र शल्यक्रिया कक्षका लागि तालिमप्राप्त नर्सहरूको अभाव रहेको विभाग प्रमुख डा. सुवेदीले बताए । “हामीले जनशक्ति व्यवस्थापनका लागि अस्पताल प्रशासन र मन्त्रालयसँग समन्वय गरिरहेका छौं,” उनले थपे ।

अस्पतालले आगामी दिनमा सुगर मधुमेह र प्रेसर उच्च रक्तचापका कारण आँखामा देखिने समस्याको विशिष्टीकृत उपचार सेवा विस्तार गर्ने योजना बनाएको छ । थप जटिल समस्याका लागि विराटनगर आँखा अस्पतालसँग समन्वय गरी कोर्निया, रेटिना र नवजात शिशुको आँखा सम्बन्धी समस्या आरओपीको उपचारमा समेत सहकार्य गरिने अस्पतालले जनाएको छ ।

चस्मा पसल सञ्चालनमा आएपछि सरकारी सेवाप्रति बिरामीको विश्वास बढ्ने र न्यून आय भएका सर्वसाधारण लाभान्वित हुने अस्पताल प्रशासनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।