इटहरी । कृषि उपज भण्डारण गर्ने उद्देश्यले मोरङको सुन्दरहरैचा नगरपालिका–७ गछियामा निर्माण गरिएको कोल्ड स्टोर सञ्चालन नभई अलपत्र अवस्थामा पुगेको छ ।
सङ्घीय सरकार र स्थानीय सरकारको करिब २ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको सुविधा सम्पन्न कोल्ड स्टोर दुई वर्षदेखि प्रयोगविहीन बनेको हो ।
नगरपालिकाले सञ्चालनका लागि तीन पटकसम्म टेन्डर आह्वान गरेपनि कुनै व्यवसायी आकर्षित नभएपछि संरचना प्रयोगविहीन बनेको वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगरले बताए । उनका अनुसार सुरुमा मासिक ४० हजार रुपैयाँ भाडा तोकिएको थियो । त्यसमा आवेदन नपरेपछि घटाएर ३५ हजार रुपैयाँ कायम गरिए पनि टेन्डर पर्न सकेन ।
‘घटाएरै भए पनि सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छौँ । तर, व्यवसायीले चासो दिएका छैनन्,’ मगरले भने । फलफूल तथा तरकारी लामो समयसम्म सुरक्षित राखेर बजार व्यवस्थापन गर्ने उद्देश्यले निर्माण गरिएको कोल्ड स्टोर सञ्चालनमा नआउँदा अहिले संरचना वरपर बाक्लो घाँस पलाएको छ ।
साजीलाल माध्यमिक विद्यालयको जग्गामा निर्माण गरिएको स्टोर कहिले सञ्चालनमा आउने भन्ने अन्योल कायमै छ । स्थानीय व्यवसायीका अनुसार गछिया क्षेत्रमा खपत हुने अधिकांश तरकारी तथा फलफूल इटहरी र केही पहाडी जिल्लाबाट सिधै बजारमा आउने भएकाले कोल्ड स्टोरको आवश्यकता महसुस नगरिएको हो । लामो समय भण्डारण गर्नुपर्ने कृषि उपजको अभावका कारण पनि व्यवसायी आकर्षित हुन नसकेको बताइएको छ ।
इटहरीमा समेत ठूलो लगानीमा अर्को ठूलो कोल्ड स्टोर सञ्चालनको तयारी भइरहेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।