लोड हुँदैछ...

मेनु

इलामको रोङ गाउँपालिकामा आइतबारको सार्वजनिक विदा नहुने

इलामको रोङ गाउँपालिकामा आइतबारको सार्वजनिक विदा नहुने

विराटनगर । इलामको रोङ गाउँपालिकाले आइतबार पनि सरकारी कार्यालय बन्द गर्ने संघीय सरकारको निर्णय अस्वीकार गरेको छ ।

गाउँपालिकाले बुधबारदेखि लागू हुनेगरी सामुदायिक विद्यालयबाहेक अन्य सबै कार्यालय पुरानै समय तालिकाअनुसार सञ्चालन गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको गाउँ कार्यपालिका बैठकले पहाडी जिल्लाको भौगोलिक अवस्था र सेवाग्राहीको उपस्थितिलाई आधार मान्दै संघीय सरकारको नयाँ कार्यतालिका व्यवहारिक नभएको निष्कर्ष निकालेको जनाएको छ ।गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले आइतबार बिदा दिएर सोमबारदेखि बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने व्यवस्था प्रभावकारी नभएको दाबी गरे ।

‘९ बजे कार्यालय खुल्ने नियम लागू भए पनि हालसम्म १० बजाअघि सेवाग्राही आउने अवस्था देखिएको छैन,’ अध्यक्ष स्याङ्बोले भने, ‘पहाडी जिल्लाको वास्तविकता नहेरी बनाइएको यस्तो निर्णयले सेवा प्रवाह प्रभावित हुन्छ ।’ उनले नेपाल विश्वमै धेरै सार्वजनिक बिदा दिने मुलुकमध्ये एक बन्दै गएको उल्लेख गर्दै अब विदाभन्दा सेवाप्रवाहलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

पालिकामा आइतबार बिदा दिने र सोमबार बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने अभ्यास सफल नभएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष स्याङ्बोका अनुसार असार मसान्तसम्म गाउँपालिकामा सम्पन्न गर्नुपर्ने विकास योजनाहरू धेरै रहेकाले लगातार बिदाले काम प्रभावित हुने अवस्था देखिएको छ ।

संघीय सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने, सरकारी खर्च कटौती गर्ने तथा कर्मचारीलाई दुई दिन विश्राम दिने उद्देश्यसहित सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सरकारी कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । अध्यक्ष स्याङ्बोले युरोपेली मुलुकमा सार्वजनिक बिदा कम भएपनि वार्षिक तलबसहितको छुट्टी बढी हुने उदाहरण दिँदै नेपालमा अत्यधिक सार्वजनिक बिदाको अभ्यास पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन् ।

संघीय सरकारले गरेको यस्तो निर्णयको धेरै स्थानीय पालिकाले अस्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।