काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफ्नै पार्टीका सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोपबारे निष्पक्ष अनुसन्धान गर्न माग गरेकी छन् ।
नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप सार्वजनिक भइरहेका बेला तामाङले सामाजिक सञ्जालमार्फत पार्टीभन्दा माथि उठेर सत्यको पक्षमा उभिनुपर्ने बताएकी हुन् ।
मोरङ–२ बाट निर्वाचित सांसद कार्कीमाथि एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर सम्पर्कविहीन भएको आरोप लागेको छ । उक्त विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि संसददेखि सामाजिक वृत्तसम्म व्यापक चर्चा भइरहेको छ ।
यसैबीच सांसद तामाङले महिलाको मातृत्व र अस्मिताजस्तो संवेदनशील विषयमा गम्भीर अनुसन्धान हुनुपर्ने बताएकी छन् ।
‘महिला चाहे स्वदेशी होस् कि विदेशी, आखिर यो धर्तीकी आमा हुन् । देखिएका सबै कुरा सत्य नहुन पनि सक्छन् । तर, सत्य जसरी बाहिर छरपस्ट आइरहेका कुराहरूको अनुसन्धान भने पक्कै हुनुपर्छ,’ उनले फेसबुकमा लेखेकी छन् ।
तामाङले पार्टीभन्दा ठूलो देश र देशभन्दा ठूलो मानवता भएको उल्लेख गर्दै कसैलाई पनि अन्याय हुन नहुने बताएकी छन् । ‘यदि कसैले अन्याय गर्छ भने चाहे त्यो आफ्नै घरको सदस्य नै किन नहोस्, हामीले गलतलाई गलत भन्न छोड्नु हुँदैन,’ तामाङको भनाइ छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा एक नाइजेरियन युवतीले सांसद कार्कीसँगको सम्बन्ध, गर्भावस्था र आफूलाई बेवास्ता गरिएको दाबी गर्दै भिडियो तथा विभिन्न प्रमाण सार्वजनिक गरेपछि यो विषयले थप चर्चा पाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा समेत सांसदहरूले उक्त विषय उठाउँदै सत्यतथ्य सार्वजनिक गर्न माग गरेका थिए ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।