लोड हुँदैछ...

मेनु

सरकारले रिहा भइसकेको झुटो दाबी गरेका अमृत अझै इरानी जेलमा

सरकारले रिहा भइसकेको झुटो दाबी गरेका अमृत अझै इरानी जेलमा

विराटननगर । इरानको हिरासतमा रहेका नेपाली युवा अमृत झा रिहा भएको भन्दै सरकारले सार्वजनिक रूपमा दाबी गरेको तीन साता बितिसक्दा पनि उनी अझै जेलमै छन् ।

झा परिवारले सरकारले झुटो सूचना प्रवाह गरेर आफूहरूलाई भ्रममा पारेको मात्र नभई अमृतको रिहाइका लागि प्रभावकारी पहलसमेत नगरेको गुनसो गरेको छ ।

उदयपुर गाईघाटका ३२ वर्षीय अमृत झा युएईस्थित कम्पनीको तेल बोक्ने पानी जहाजमा चालकको रूपमा कार्यरत थिए । गत जनवरी १२ मा स्ट्रेट अफ हर्मुजस्थित इरानी जलक्षेत्रबाट उनीसहित चालकदलका सदस्यलाई इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । उनीमाथि अवैध रूपमा इरानी जलक्षेत्र प्रवेश गरी तस्करी गरेको अभियोग लगाइएको छ ।

गत वैशाख २ गते परराष्ट्र मन्त्रालयले अमृत रिहा भएको जानकारी सार्वजनिक गरेको थियो । परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत ‘अमृत झा रिहा भइसकेको’ दाबी गर्दै उनलाई इरानबाट बाहिर ल्याउने काम भइरहेको बताएका थिए । तर, त्यसको तीन साता बितिसक्दा पनि झा इरानको बन्दर अब्बास जेलमै रहेको परिवारले जनाएको छ ।

अमृतकी आमा प्रभावती झाका अनुसार बिहीबार बेलुका अमृतले फोन गरेर आफू अझै हिरासतमै रहेको जानकारी दिएका थिए । ‘उसले अब १०–१५ दिनमा छुट्छु भन्छ । तर, बारम्बार त्यही कुरा दोहोरिन्छ । सरकारले केही पहल गरेको जस्तो लागेन,’ उनले भनिन् ।

परिवारका अनुसार अमृतसँगै पक्राउ परेका चार भारतीय नागरिक भने रिहा भएर भारत फर्किसकेका छन् । अहिले अमृतसहित दुई भारतीय नागरिक मात्रै हिरासतमा बाँकी छन् ।

अमृतकी दिदी पूजा झाले नेपाल सरकारले इरानसँग उच्च तहमा समन्वय गर्न नसक्दा भाइको रिहाइ लम्बिएको आरोप लगाइन् । ‘यदि सरकारले गम्भीर पहल गरेको भए भाइ अहिलेसम्म घर फर्किसकेको हुन्थ्यो,’ उनले भनिन्, ‘हामीले परराष्ट्र मन्त्रालयसँग पटकपटक कुरा गरिरहेका छौं, तर जवाफ एउटै आउँछ– प्रक्रिया चलिरहेको छ ।’ मन्त्री खनालले झा रिहा भएको र उनको नेपाली फिर्ती प्रक्रिया सुरु भएको भन्दै केहि दिनमै नेपाल आउने दावी गरेका थिए ।

परिवारले परराष्ट्रमन्त्रीबाट सार्वजनिक गरिएको ‘रिहा भएको’ सूचना झुटो र भ्रामक भएको रहेको बताएको छ । अमृतका भिनाजु राजेश झाका अनुसार मन्त्रीको भनाइपछि परिवार खुसी भएको थियो । तर, पछि अमृतले नै फोन गरेर आफू जेलमै रहेको बताएपछि उनीहरू स्तब्ध बने ।

अमृत हाल इरानको होर्मोज्गान प्रान्तस्थित बन्दर अब्बास जेलमा छन् । उक्त जेल विदेशी नागरिक र गम्भीर अभियोग लागेकाहरूलाई राखिने कारागारका रूपमा चिनिन्छ ।

परराष्ट्र मन्त्रालयले भने अमृतको रिहाइ प्रक्रिया जारी रहेको दावी गरेको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार इरानको अदालतले अमृत निर्दोष रहेको संकेत गरेपनि थप अध्ययनका लागि अर्को निकायलाई जिम्मा दिइएकाले प्रक्रिया लम्बिएको हो ।

मन्त्रालयका अनुसार कतारस्थित नेपाली दूतावास र इरानस्थित नेपाली महावाणिज्यदूतमार्फत रिहाइका लागि पहल भइरहेको छ । तर, परिवारले भने सरकारको पहल कमजोर रहेको र अब सिधै इरानी सरकारसँग उच्च तहमा कूटनीतिक वार्ता हुनुपर्ने माग गरेको छ ।

करिब चार महिनादेखि हिरासतमा रहेका अमृतको परिवार अहिले चिन्ता, निराशा र आक्रोशबीच बाँचिरहेको छ । ‘जीवन बचाउने जिम्मा राज्यको पनि हो,’ अमृतकी आमाले भनिन्, ‘हामी अब कसलाई गुहार्ने ?’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।