विराटनगर । भारतको पश्चिम बंगाल र तमिलनाडुमा नयाँ मुख्यमन्त्री चयन भएका छन्।
पश्चिम बङ्गालमा भारतीय जनता पार्टी (भाजपा) ले २९४ सदस्यीय विधानसभामध्ये २०७ सिट जित्दै अखिल भारतीय तृणमूल कांग्रेस (टीएमसी) को १५ वर्षे शासन अन्त्य गरेको छ ।
भाजपाका नेता शुभेन्दु अधिकारी पश्चिम बंगालको नयाँ मुख्यमन्त्री बनेका छन्। उनले भवानीपुर क्षेत्रबाट टीएमसी नेतृ तथा निवर्तमान मुख्यमन्त्री ममता बनर्जीलाई पराजित गरेका थिए। पार्टी पर्यवेक्षकका रूपमा कोलकाता पुगेका भारतीय गृहमन्त्री अमित शाहले शुभेन्दुको नाम मुख्यमन्त्रीका लागि घोषणा गरेपछि उनले राज्यपालसँग सपथ ग्रहण गरेका छन्।।
कुनै समय ममता बनर्जीका पूर्व निकट सहयोगी रहेका शुभेन्दु अधिकारीले डिसेम्बर २०२० मा टीएमसी छोडेर भाजपामा प्रवेश गरेका थिए। त्यसपछि उनी बंगाल राजनीतिमा भाजपाको प्रमुख अनुहार बनेका थिए।
पश्चिम बंगालमा भाजपाको यो जीतलाई ऐतिहासिक मानिएको छ। पहिलोपटक हिन्दू राष्ट्रवादी दलले बंगालमा सरकार बनाउने अवसर पाएको हो।
उता, दक्षिण भारतीय राज्य तमिलनाडुमा भने अभिनेता तथा राजनीतिज्ञ विजय थलापति नेतृत्वको ‘तमिलगा भेट्टी कझगम’ (टीभीके) ले सरकार बनाएको छ। ठुलो पार्टी भएपनि बहुमत अभावका कारण काङ्ग्रेस सहित अन्य दलको समर्थनमा थलापति मुख्यमन्त्री नियुक्त भएका हुन् ।
तमिलनाडु विधानसभा चुनावमा टीभीकेले १०८ सिट जितेको छ। तर, सरकार गठनका लागि ११८ सिट आवश्यक पर्ने भएकाले विजयले अन्य दलका समर्थन पाएका हुन् ।
शुक्रबार विजयले राज्यपालसमक्ष सरकार गठनको दाबी पेश गरेका थिए। वामपन्थी दल सीपीआई र सीपीएमले टीभीकेलाई बाहिरी समर्थन गर्ने घोषणा गरेका छन्। कांग्रेसका पाँच विधायकले पनि विजयलाई समर्थन गरेका छन्। दुई विधायक रहेको आईयूएमएलले पनि विजयलाई समर्थन गरेपछि उनले बहुमत जुटाउन सफल भएका हुन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।