लोड हुँदैछ...

मेनु

होर्मुजमा सैन्य तनाव : विश्वव्यापी इन्धन आपूर्तिमा अवरोध, तेलको मूल्य बढ्यो

होर्मुजमा सैन्य तनाव : विश्वव्यापी इन्धन आपूर्तिमा अवरोध, तेलको मूल्य बढ्यो

एजेन्सी स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीचको बढ्दो सैन्य मुठभेडका कारण अन्तर्राष्ट्रिय इन्धन आपूर्ति शृङ्खला गम्भीर रूपमा प्रभावित भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडीमा फसेका जहाज निकाल्ने ‘प्रोजेक्ट फ्रिडम’ अन्तर्गत सातवटा इरानी ‘फास्ट बोट’ ध्वस्त पारेको दाबी गरेका छन्। यद्यपि, इरानले यस कारबाहीलाई अस्वीकार गर्दै अमेरिकी अभियानलाई ‘डेडलोक’ को संज्ञा दिएको छ।

यसैबीच, संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराह तेल बन्दरगाहमा ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण हुँदा भीषण आगलागी हुनुका साथै तीन जना घाइते भएका छन्। यूएईले यसको दोष इरानमाथि थोपर्दै प्रतिकार गर्ने चेतावनी दिएको छ। गत फेब्रुअरीदेखि नै यो जलमार्ग लगभग बन्द हुँदा विश्वको २० प्रतिशत तेल आपूर्ति प्रभावित भएको छ।

यस तनावको प्रत्यक्ष असर स्वरूप अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ५ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ११५ डलर नाघेको छ। बेलायत र फ्रान्स लगायतका शक्ति राष्ट्रहरूले आक्रमणको निन्दा गर्दै जलमार्गको सुरक्षामा चिन्ता व्यक्त गरेका छन्। तनावकै बीच अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई सैन्य सुरक्षामा बाहिर निकाल्न सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।