विराटनगर । विराटनगरमा आयोजित नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रममा नेताहरूले पार्टीको आन्तरिक दुरावस्था र चुनावी पराजयका बारेमा अत्यन्तै तीतो र रोचक यथार्थ प्रस्तुत गरेका छन् । कार्यक्रममा सहभागी नेताहरूको मुख्य आक्रोश आफ्नै सहकर्मीहरूको अन्तर्घात र नयाँ पुस्ताको मनोविज्ञान बुझ्न नसक्ने नेतृत्वप्रति लक्षित थियो ।
समीक्षा कार्यक्रमको सबैभन्दा चर्चाको केन्द्रमा झापा क्षेत्र नम्बर २ की प्रत्याशी एवं पूर्व केन्द्रीय सदस्य सरिता प्रसाईँको भनाइ रह्यो । उनले पार्टीको क्रियाशील सदस्यता प्रणाली र कार्यकर्ताको इमानदारितामाथि गम्भीर प्रश्न उठाउँदै भनिन्, ‘चुनाव सकिएकै भोलिपल्ट रवि लामिछानेलाई माला लगाउने र कांग्रेसलाई भोट नहाल्नेहरू नै अहिले क्रियाशील सदस्यता नवीकरण गर्न सबैभन्दा अगाडि लाइनमा बसेका छन् । ’ प्रसाईँले फेसबुकमा अरू दलका उम्मेदवारलाई समर्थन गर्नेहरू नै अहिले कांग्रेसको ‘सक्रिय सदस्य’ बन्न हतारिनुले पार्टीभित्रको वैचारिक विचलन र अवसरवाद प्रस्ट पारेको टिप्पणी गरिन् । उनले आफ्नै जिल्लाका शीर्ष नेताहरू उद्धव थापा र सुधीर शिवाकोटीसँगै हिँड्दा पनि ‘क्रियाशील सदस्य’ सख्या भन्दा कम भोट आउनुले कांग्रेसको जग हल्लिएको सङ्केत गरेको बताइन् ।
प्रसाईँको यो भनाइलाई ओखलढुङ्गाका प्रत्याशी कुमार लुइटेलले आफ्नै पीडादायी अनुभवले सुनाए । जम्मा ५ मतको अन्तरले पराजित भएका प्रसाईले विपक्षीसँग भन्दा पनि आफ्नै पार्टीभित्रका ‘निवर्तमान केन्द्रीय सदस्यहरू’ को चौतर्फी घेराबन्दी र अन्तर्घातका कारण आफूले चुनाव हारेको दाबी गरे । उनले रामहरी खतिवडा प्रति लक्षित गर्दै उक्त आरोप लगाएका हुन् । उनले काठमाडौँबाट हजारौँ मतदाता जिल्ला पु¥याए पनि ८० प्रतिशतले अन्तै भोट हालेको बताए । सूचना प्रविधिको ‘अल्गोरिदम’ बुझ्न नसक्नु कांग्रेसका लागि घातक भएको बताए । ओखलढुङ्गा सभापति तेजेन्द्र खनालले झन् प्राविधिक कमजोरीका कारण मात्रै चुनाव हारीएको बताए ।
अन्तर्घातको यो सिलसिला इलाममा पनि उत्तिकै भयानक देखिएको प्रत्याशी भेषराज आचार्यले सुनाए । उनले इलाममा कांग्रेसकै केही प्रभावशाली नेताहरूले बैठक बसेर ‘आचार्यलाई नहराए यसले चुनाव जित्छ र आफूलाई अप्ठ्यारो हुन्छ’ भन्दै ४ हजारभन्दा बढी मत एमालेको ‘सूर्य’ चिन्हमा खसालेको गम्भीर खुलासा गरे । २०५१ सालदेखि नै इलाम कांग्रेसमा ‘आफ्नैलाई हराउने’ ऐँजेरु लागेको र यसपटक रास्वपा र श्रम संस्कृर्ति पाटी (माटो) को लहरले झन् संकट निम्त्याएको उनको निष्कर्ष थियो ।
संखुवासभाका कार्यवाहक सभापति अनन्त कुमार गौलीले भने नयाँ पुस्ताको बदलिँदो मनोविज्ञानले कांग्रेसलाई पारेको असरबारे रोचक उदाहरण दिए । उनले कांग्रेस नेता–कार्यकर्ताका विदेशमा रहेका छोराछोरीले आफ्ना आमाबुबालाई फोन गरेर ‘यसपटक बालेन वा घण्टीबाहेक कसैलाई भोट नहाल्न’ दबाब दिएको बताए । गौलीका अनुसार छोराछोरीको जिद्दीका कारण पुराना कांग्रेसीहरूले पनि रुख छाडेर अन्यत्र मतदान गरेका थिए । सुनसरीका २का उम्मेदवार राजीव कोइरालाले पनि तराईमा ‘मधेसीको छोरो प्रधानमन्त्री हुन्छ’ (बालेन शाह) भन्ने भाष्य र बालेन्द्र शाहको क्रेजले गर्दा कांग्रेसको १६ हजारभन्दा बढी मत अन्यत्र मोडिएको बताए ।
उदयपुर १ का प्रत्याशी विदुर बस्नेतले कांग्रेसको सङ्गठन कागजमा बलियो तर परिणाममा शून्य देखिएको भन्दै पुरानो ढर्राको नेतृत्वले अबको निर्वाचन जित्न नसकिने चेतावनी दिए । खोटाङका वीरकाजी राईले २६ वर्षदेखि जित्न नसकेको आफ्नो जिल्लामा यसपटक पनि विपक्षीसँग भन्दा आफ्नै आन्तरिक गुटबन्दीसँग लड्दा शक्ति क्षय भएको पीडा पोखे । तेह्रथुमका जिल्ला सभापति अर्जुन तुम्बाहाम्फेले त घण्टीका समर्थकहरू अत्यन्तै साइलेन्ट हुने र उनीहरू कांग्रेससँगै खाने–बस्ने तर भोट हाल्ने बेला चुपचाप अन्यत्र मतदान गर्ने प्रवृत्तिले कांग्रेस झुक्किरहेको बताए ।
यस्तो निराशाका बीच सोलुखुम्बुबाट निर्वाचित प्रकाश सिंह कार्कीले भने नेतृत्व परिवर्तन (गगन थापाको उदय) ले कार्यकर्तामा आशा पलाएको र राजीनामा दिएका साथीहरू पनि पार्टीमा फर्किएको सकारात्मक पक्ष सुनाए । उनले युवा पुस्ताका कुरा नेतृत्वले नसुन्दा देशैभर कांग्रेसले क्षति बेहोरेको बताए । उदयपुरका जिल्ला सभापति हिमाल कार्कीले नेतृत्वको दोहोरो चरित्रमाथि प्रहार गर्दै भने, ‘गगन थापाको हस्ताक्षर भएको टिकट लिएर चुनाव लड्ने, तर चुनावपछि उनैलाई सभापति मान्दिनँ भन्दै सामाजिक सञ्जालमा लेख्ने नेताहरूले कार्यकर्तामा भ्रम छरेका छन् । ’ उनले नेतृत्वलाई अब निर्मम भएर अन्तर्घातीहरूलाई कारबाही गर्न र विधानअनुसार पार्टी चलाउन आग्रह गरे ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।