लोड हुँदैछ...

मेनु

तराईमा तातो लहरको जोखिम बढ्दो, कोशीका उच्च हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

तराईमा तातो लहरको जोखिम बढ्दो, कोशीका उच्च हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहँदा मौसममा दोहोरो स्वरुप देखिएको छ । देशको तराई क्षेत्रमा गर्मी बढेर जनजीवन प्रभावित हुन थालेको छ भने कोशी प्रदेशका उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपातको तयारी देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका भू-भागमा तातोपन अझै बढ्ने देखिएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा ‘तातो लहर’ (लू) चल्ने सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ । मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका साथै उपत्यका र खोँचहरूमा समेत आज ‘तातो दिन’ हुने प्रक्षेपण गरिएको छ ।

तराईमा गर्मीले आकुलव्याकुल बनाइरहँदा पहाडी र हिमाली भेगमा भने बादलको लुकामारी चल्नेछ । कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भेगका थोरै स्थानहरूमा आज मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । ती क्षेत्रका उच्च हिमाली भागमा हिमपात समेत हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने कर्णालीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

राति पनि कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने छ । बाँकी क्षेत्रमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ । तराईमा बढ्दो तापक्रम र हिमाली क्षेत्रमा हुन सक्ने हिमपातका कारण आवश्यक पूर्वसावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।