लोड हुँदैछ...

मेनु

अमृत झा अझै इरानी जेलमा, परराष्ट्रमन्त्रीले भ्रम फैलाएको पुष्टि

अमृत झा अझै इरानी जेलमा, परराष्ट्रमन्त्रीले भ्रम फैलाएको पुष्टि

विराटनगर । झन्डै चार महिनादेखि इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा अझै जेलमै रहेको पुष्टि भएको छ ।

उदयपुर घर भएका झा रिहा भएको भन्दै उनलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरेको जानकारी यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले दिएका थिए । तर, उनको जानकारी झुटो रहेको परिवारले जनाएको छ ।

उदयपुरको गाइघाट घर भएका अमृतकी दिदी पूजा झाले भाई दक्षिणी इरानको बन्दर अब्बासस्थित जेलमै रहेको जानकारी दिएकी छन् । “उसले आफूविरुद्धको आरोपमा अझै अनुसन्धान भइरहेको छ भनेको छ,” उनले बताइन्, “सरकारले छिट्टै नेपाल फर्किन्छ भनेको भएपनि वास्तविकता फरक छ।”

परराष्ट्रमन्त्री खनालले सामाजिक सञ्जालमार्फत अमृतको रिहाइसम्बन्धी जानकारी प्राप्त भएको उल्लेख गर्दै छिट्टै स्वदेश फर्काउने तयारी भइरहेको बताएका थिए। उक्त अभिव्यक्तिपछि परिवारमा खुशी छाएको थियो। तर, पछिल्लो अवस्थाले त्यो दाबी गलत सावित भएको परिवारको भनाइ छ।

अमृतकी आमा प्रभावती झाले छोराको रिहाइको खबरले केही समय खुशी दिलाएपनि वास्तविकता थाहा पाएपछि गहिरो निराशा भएको बताइन्। “घर आउँछ भनेर कुरिरहेका थियौं । तर, ऊ अझै जेलमै छ। सरकारले किन यस्तो भ्रम फैलायो ?” उनले गुनासो गरिन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले भने सरकारले झुट नबोलेको दाबी गरेका छन्। उनका अनुसार अमृतको रिहाइ प्रक्रिया सुरू भइसकेको छ र आवश्यक कूटनीतिक तथा कानुनी पहल जारी छ। “हामी उनलाई सकेसम्म छिटो रिहा गराउन निरन्तर प्रयासरत छौं,” उनले भने।

उदपुर घर भई वैदेशिक रोजगारीमा गएका ३२ वर्षीय अमृतलाई गत जनवरी १२ मा स्ट्रेट अफ हर्मुज क्षेत्रबाट तेलवाहक पानीजहाजसहित इरानी तटरक्षकले नियन्त्रणमा लिएको थियो। उनीमाथि इरानी जलक्षेत्रमा अवैध प्रवेश तथा तेल तस्करीसम्बन्धी आरोप लगाइएको छ।

कूटनीतिक स्रोतका अनुसार कतारको दोहास्थित नेपाली दूतावास र इरानस्थित नेपाली महावाणिज्यदूतावासको समन्वयमा एक इरानी वकिलमार्फत उनको रिहाइका लागि कानुनी प्रक्रिया अघि बढाइएको छ। सरकारले झाबारे झुटो बोलेको भन्दै परिवारमा आक्रोश र निराशा बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।