काठमाडौं । भारतमा आयोजना हुने सिनियर महिला हक्की प्रतियोगितामा सहभागी हुन जाने नेपाली राष्ट्रिय महिला हक्की टोलीलाई आइतबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ ।
नेपाल हक्की संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा आयोजना गरेको कार्यक्रममा राखेपका सदस्य–सचिव रामचरित्र मेहताले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । सो अवसरमा सदस्य–सचिव मेहताले खेलाडीहरूलाई आफ्नो क्षमताको पूर्ण प्रदर्शन गर्दै उत्कृष्ट नतिजा निकाल्न र राष्ट्रको गौरव बढाउन प्रेरित गरे ।
बिदाइ कार्यक्रममा नेपाल हक्की संघकी महासचिव एवं राखेप कार्यकारी सदस्य सुवर्ण श्रेष्ठले नेपाली महिला हक्कीका लागि यो भ्रमण ऐतिहासिक रहेको बताइन् । उनले ३१ वर्षको लामो अन्तरालपछि नेपाली महिला हक्की टोली वैदेशिक प्रशिक्षण र खेलका लागि जान लागेको जानकारी दिइन् ।
श्रेष्ठका अनुसार नेपाली टोलीले भारत पुगेर सुरुमा एक साता विशेष प्रशिक्षण लिनेछ र त्यसपछि प्रतियोगितामा सहभागी हुनेछ ।
अंकिता अधिकारीको कप्तानीमा रहेको नेपाली टोली २६ सदस्यीय छ । टोलीको मुख्य प्रशिक्षकमा अश्विनीकुमार अधिकारी, सहायक प्रशिक्षकमा रविन्द्रसिंह र व्यवस्थापकमा कान्तुराम पनेरु रहेका छन् ।
बिदाइ कार्यक्रममा नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । नेपाली टोली आइतबार नै भारत प्रस्थान गर्ने कार्यक्रम छ ।
नेपाली महिला हक्की टोलीले लामो समयपछि पाएको यो अन्तर्राष्ट्रिय अवसरलाई नेपाली खेलकुद क्षेत्रमा उत्साहका साथ हेरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।