विराटनगर, ६ वैशाख । इन्धन ढुवानीको रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा इरान र अमेरिकाबीचको विवाद चुलिएसँगै विश्वभर इन्धन संकट गहिरिने जोखिम बढेको छ। इरानले यो जलमार्ग पुनः बन्द गर्ने घोषणा गर्दै अमेरिकी नाकाबन्दी कायम रहेसम्म कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने चेतावनी दिएको छ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले शनिबार वक्तव्य जारी गर्दै होर्मुजबाट गुज्रिन खोज्ने जुनसुकै जहाजलाई निशाना बनाइने स्पष्ट पारेको छ। पाकिस्तानको मध्यस्थतापछि केही समयका लागि जलमार्ग खोल्न इरान सहमत भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दी जारी रहने बताएपछि स्थिति पुनः तनावपूर्ण बनेको हो। इरानले भारतीय दुई व्यावसायिक जहाजमाथि गोली चलाएको पुष्टि भएपछि अन्तर्राष्ट्रिय समुद्री सुरक्षामा थप त्रास फैलिएको छ।
विश्वको कूल तेल आपूर्तिको ठूलो हिस्सा ओगट्ने यो मार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि हुने र ऊर्जा आपूर्ति ठप्प हुने निश्चित छ। एकातिर अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी गरेको छ भने अर्कोतिर इरानले मुख्य आपूर्ति मार्ग नै ठप्प पार्ने रणनीति लिएको छ। यो ‘दोहोरो नाकाबन्दी’ को अवस्थाले गर्दा आगामी दिनमा विश्वव्यापी रूपमा इन्धन अभाव र आर्थिक संकट थप भयावह हुने विश्लेषकहरूले चेतावनी दिएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।