लोड हुँदैछ...

मेनु

विराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

विराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

विराटनगर । नेपाली साहित्य र सिर्जनशील क्षेत्रमा सक्रिय दुई विशिष्ट व्यक्तित्वलाई विराटनगरमा सम्मानित गरिएको छ। बबरसिंह–देवकुमारी थापा सेवा गुठीले शनिबार आयोजना गरेको एक विशेष समारोहमा वरिष्ठ कवि ज्ञान उदास र सञ्चारकर्मी तथा चलचित्र निर्देशक संगीता श्रेष्ठलाई नगदसहित सम्मान गरेको हो।

कार्यक्रममा ‘देवकुमारी थापा स्मृति सम्मान–२०८२’ बाट वरिष्ठ कवि ज्ञान उदासलाई सम्मानित गरिएको छ। करिब ६ दशकदेखि कविता, गीत, मुक्तक र बालसाहित्यमार्फत नेपाली साहित्यमा निरन्तर साधनारत उदासलाई नगद ५० हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो।

त्यसैगरी, ‘बबरसिंह थापा स्मृति सम्मान’ बाट सञ्चारकर्मी तथा चलचित्र निर्देशक संगीता श्रेष्ठलाई पुरस्कृत गरिएको छ। साहित्य, पत्रकारिता र चलचित्र क्षेत्रमार्फत समाजका विविध पक्षलाई उजागर गर्न उनले पुर्‍याएको बहुआयामिक योगदानको कदरस्वरूप नगद २५ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

दुवै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक रामबहादुर थापा, गुठीका अध्यक्ष प्राध्यापक कविराज न्यौपाने, उपाध्यक्ष मालती राई र पूजा थापा श्रेष्ठले संयुक्त रूपमा सम्मान हस्तान्तरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राध्यापक थापा र अध्यक्ष न्यौपानेले स्रष्टाहरूको योगदान नेपाली साहित्यको अमूल्य सम्पत्ति भएको बताउँदै यस्ता सम्मानले नयाँ पुस्तालाई समेत प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

समारोहमा साहित्यकारहरू खेम नेपाली, बलराम पोखरेल र प्रमोद प्रधानलगायतले बाल कथाकार देवकुमारी थापाले नेपाली भाषा र बालसाहित्यको विकासमा पुर्‍याएको उल्लेखनीय योगदानको स्मरण गरेका थिए। त्यस्तै, विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल र सदस्य सचिव दिनेशराज सुवेदी ‘दिङ्लाली कान्छो’ले स्थानीय तहमा साहित्यिक गतिविधि प्रवर्द्धन गर्न यस्ता कार्यक्रम फलदायी हुने धारणा राखे।

गुठीका पदाधिकारीहरू सचिव दिनेश श्रेष्ठ, कोषाध्यक्ष हरिमोहन श्रेष्ठ र सदस्य शोभन नेपाललगायतले देवकुमारी थापाको साहित्यिक योगदानको चर्चा गरेका थिए। सभापतिको आसनबाट बोल्दै अध्यक्ष न्यौपानेले आगामी दिनमा पनि साहित्य, कला र सञ्चार क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरूलाई प्रोत्साहन गर्न स्मृति सम्मान कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।