लोड हुँदैछ...

मेनु

श्रद्धा र सम्मानका साथ मातातीर्थ औंसी मनाइँदै

श्रद्धा र सम्मानका साथ मातातीर्थ औंसी मनाइँदै

विराटनगर । प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइने मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने पर्व आज देशभर उत्साह र श्रद्धापूर्वक मनाइँदैछ। ूजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीू अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भन्ने शास्त्रीय मान्यताका साथ आज आमाप्रति कृतज्ञता प्रकट गरिँदैछ।

विराटनगर लगायत देशका विभिन्न स्थानमा बिहानैदेखि छोराछोरीहरूले आफ्नी आमालाई मनपर्ने मिठाई, फलफूल, वस्त्र तथा विभिन्न उपहार दिएर सम्मान प्रकट गरिरहेका छन्। टाढा रहेका सन्तानहरू पनि आमाको मुख हेर्न घर पुग्ने वा प्रविधिको प्रयोग गरी फोन तथा भिडियो कलमार्फत आशीर्वाद लिने गर्दछन् ।

नेपालका विभिन्न समुदायमा यो पर्व मनाउने आ(आफ्नै मौलिक तरिका छन्। नेवार समुदायमा यस दिनलाई ‘मिसया ख्वा सोयेगु’ भनिन्छ। उनीहरूले विशेष प्रकारका मिठाई, सगुन र फलफूलका साथ आमाको पूजा गर्ने गर्दछन्। तराई र मधेसी समुदायमा आमाको गोडा धोएर आशीर्वाद लिने र आमाको दीर्घायुको कामना गर्दै विशेष पकवानहरू खुवाउने चलन छ।

जसको आमाको मृत्यु भइसकेको छ, उनीहरूले भने आज काठमाडौंको थानकोट नजिकै रहेको मातातीर्थ कुण्डमा गएर स्नान, तर्पण र श्राद्ध गर्ने गर्दछन्। यसो गर्दा मृत आमाको आत्माले शान्ति पाउने विश्वास गरिन्छ।

आजको दिनले आमा र सन्तानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै नेपाली समाजमा रहेको मातृदेवो भवःको संस्कारलाई नेपाली समाजलाई जीवन्त राखेको छ।

यसैबीच आजको दिनलाई धार्मिक र कृषि परम्परामा ‘निशि औंसी’ र ‘हलो बार्ने औंसी’ को रूपमा पनि लिइन्छ। विशेषगरी किसान समुदायमा आजको दिन खेतबारीमा हलो जोत्नु हुँदैन भन्ने मान्यता छ। धर्ती र गोरुलाई विश्राम दिने उद्देश्यले यो दिन हलो बार्ने गरिन्छ। यसो गर्दा खेतीपाती राम्रो हुने र अन्नबाली सप्रिने जनविश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।