इटहरी । इटहरीमा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान गोल्डकपको उपाधि हाम्रो इटहरी भेट्रान क्लबले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा मिल्स भेट्रान क्लब विराटनगर लाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक टिम च्याम्पियन बनेको हो।
खेलको दोस्रो हाफमा इटहरीले लगातार दुई गोल गर्दै निर्णायक अग्रता बनाएको थियो। त्यसपछि मिल्स भेट्रानले खेलमा फर्कने प्रयास गरे पनि गोल फर्काउन नसक्दा उपविजेतामै सीमित भयो।
उपाधिसँगै इटहरी भेट्रानले नगद १ लाख रुपैयाँ, ट्रफी, शिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेता मिल्स भेट्रानले ५० हजार रुपैयाँसहित ट्रफी, शिल्ड र मेडलमा चित्त बुझाएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू पनि पुरस्कृत भएका छन्। फाइनल खेलको ‘म्यान अफ द म्याच’ भूपाल विष्ट घोषित भए। यस्तै, बेस्ट गोलकिपर सुनिल तामाङ र बेस्ट डिफेन्डर रामशरण चौधरी (दुवै इटहरी) चुनिए।
मिल्स भेट्रानका डेनिम राई बेस्ट मिडफिल्डर घोषित हुँदा इटहरीका लिलाराम मगर बेस्ट फरवार्ड बने। हाइ स्कोरर तिर्थ याक्सो र बेस्ट कोच दिपेन तामाङले पनि नगद पुरस्कार प्राप्त गरे। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी (MVP) दिवश राई घोषित भई नगद ३५ सय रुपैयाँबाट सम्मानित भए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।