लोड हुँदैछ...

मेनु

साहित्यकार बलराम पोखरेलको ‘नरपुराण’ लोकार्पण

साहित्यकार बलराम पोखरेलको ‘नरपुराण’ लोकार्पण

सुजता राई
विराटनगर । नेपाली साहित्य आकाशमा एकपछि अर्को कृतिका साथ सक्रिय रहँदै आएका साहित्यकार बलराम पोखरेलको नवीनतम् कृति “नरपुराण” सार्वजनिक गरिएको छ। नेपाल स्रष्टा समाजद्वारा प्रकाशित यस कृतिको एक विशेष साहित्यिक समारोहका बीच विराटनगरस्थित खोटाङ सामाजिक सेवा मञ्चको सभाहलमा शनिबार लोकार्पण गरिएको हो।

लोकार्पण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्राज्ञ परिषद्का सदस्य एवं वरिष्ठ साहित्यकार विवश पोखरेलले कृतिकार पोखरेललाई शुभकामना दिँदै ‘‘नरपुराण’ ले मानव सृष्टि र विकासको प्रक्रियालाई फरक र मौलिक ढङ्गले व्याख्या गरेको बताए। उनले भने, “यस कृतिमा मानव उत्पत्तिलाई ‘बदर’ अर्थात् बीजरमूल तत्वबाट विकसित भएको रूपमा जसरी प्रस्तुत गरिएको छ, त्यसले पाठकलाई सृष्टि र मानव विकासका बारेमा नयाँ र विचारोत्तेजक दृष्टिकोण प्रदान गर्नेछ।”

कृतिको समीक्षात्मक टिप्पणी राख्दै समीक्षकहरू बाबुराम पोखरेल, भूषण ढुंगेल र दिनेशराज सुवेदीले यसको विषयवस्तु, तार्किक भाषाशैली र समसामयिक सान्दर्भिकतामाथि प्रकाश पारे। उनीहरूका अनुसार, यो कृति परम्परागत पुराणभन्दा भिन्न र मानव केन्द्रित चिन्तनले सुसज्जित छ। २१६ वटा लघु निबन्धहरूको सङ्गालो रहेको यस कृतिलाई लेखकले भूमिका खण्ड, देवता खण्ड, राजनीति खण्ड, धर्म खण्ड, भाषा खण्ड, सारांश खण्ड गरी ६ वटा मुख्य खण्डहरूमा विभाजन गरेका छन् । साहित्यकार बलराम पोखरेलको यो १६औँ प्रकाशित कृति हो। यसअघि नै उनले विभिन्न विधामा आफ्ना सिर्जनाहरू पाठकमाझ पस्किसकेका छन्।

नेपाल स्रष्टा समाजका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ को अध्यक्षतामा सम्पन्न उक्त गरिमामय समारोहमा विशिष्ट अतिथि प्रभात दीक्षित, प्राज्ञ गङ्गा सुवेदी, साहित्यकार मेदिनी शर्मा, हरिहर भण्डारी, मधु पोखरेल, सरला चापागाईं लगायतका स्रष्टाहरूको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा शारदा भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन लक्ष्मी पोखरेलले गरेकी थिइन्। साहित्यकारहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई थप बौद्धिक र रोचक बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।