इलाम इलाम गोल्डकप हेर्न आउने दर्शकहरूले यस वर्ष पनि अस्थायी बाँसको प्यारापिटमै बसेर खेल अवलोकन गर्नुपर्ने भएको छ।
आगामी वैशाख ५ देखि १२ गतेसम्म सञ्चालन हुने तेस्रो संस्करणको तयारी तीव्र भइरहँदा मैदानको अवस्था भने अघिल्ला वर्षभन्दा सुधारिएको छ।
आयोजक रेडहर्ष फुटबल क्लबले मैदानलाई हरियो घाँसे बनाउन बर्खामै दुबो रोपेको थियो, जसका कारण यसपटक खेल मैदान आकर्षक बनेको छ। तर, दर्शकका लागि भने विगतझैँ बाँसबाट बनाइएको अस्थायी प्यारापिटकै भर पर्नुपर्ने अवस्था कायम छ।
प्यारापिट निर्माणका लागि मात्रै १० लाख रुपैयाँभन्दा बढी खर्च गरिएको छ । मैदान सुधार र अन्य व्यवस्थासहित कुल करिब २५ लाख रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ। हरेक वर्ष हरिया बाँस प्रयोग गरेर अस्थायी संरचना बनाइने गरिन्छ।
प्रतियोगिता सञ्चालन हुने ठुलो टुँडिखेल भने नेपाली सेनाको स्वामित्वमा रहेकाले स्थायी प्यारापिट निर्माणमा समस्या देखिएको छ। यही कारण दर्शकले जोखिम मोलेर अस्थायी संरचनामै बसेर खेल हेर्नुपर्ने बाध्यता दोहोरिँदै आएको छ।
प्रतियोगिताको यो संस्करणमा मलेसिया, भारत र नेपालका गरी ८ टिमको सहभागिता रहनेछ । जसले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।