जनकपुर । सिरहाको सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादव विरुद्ध कुटपिट र अभद्र व्यवहारको आरोपमा पक्राउ पुर्जी जारी भएको छ।
चैत २३ गते नगरपालिकाको कार्यालयभित्रै कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवमाथि हातपात गरेको आरोपमा उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो।
पीडित रामशरण यादवले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्ला अदालत सिरहाबाट पक्राउ पुर्जी लिएको हो। प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार मेयर यादव हाल सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको छ।
पीडित रामशरणले मेयर यादवलाई प्रतिवादी बनाएर दिएको जाहेरी दर्ता गरी जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्ला अदालतबाट पक्राउ पुर्जी माग गरेको थियो । ‘मेयर नविन कुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ’ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले नागरिकसँग भने,‘अहिले उहाँ यहाँ हुनुहुन्न हामी खोज्दै छौँ । उहाँमाथि अभद्र व्यवहारमा मुद्दा दर्ता भएको छ ।’
पीडितका अनुसार सोमबार बिहान ९ बजे हाजिरी गर्न लागेका बेला मेयर यादवले गालीगलौज गर्दै लात्ती र मुक्काले आक्रमण गरेका थिए। घटनामा घाइते भएका रामशरणको हड्डी भाँचिएको छ र शरीरका विभिन्न भागमा चोट लागेको छ। उनी हाल उपचाररत छन्।
घटनापछि नगरपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। कर्मचारीहरूले कार्यालयमै धर्ना दिएर प्रदर्शन गरिरहेका छन्, जसका कारण नगरपालिकाको कामकाज ठप्प बनेको छ। उनीहरूले पीडितको निःशुल्क उपचार, उचित क्षतिपूर्ति, दोषीमाथि कडा कारबाही र सुरक्षित कार्य वातावरणको माग गरेका छन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले माग सम्बोधन नभए आन्दोलन जारी रहने बताएका छन्। घटनापछि मेयर यादव भने फरार छन् । उनले आफूले कुटपिट नगरेको दाबी गर्दै आएका छन् । यादव नेकपा एमालेबाट मेयरमा निवाचित भएका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।