विराटनगर । धान रोपाइँको मुख्य सिजनमै झापामा रासायनिक मलको चरम अभाव भएपछि किसान चिन्तित बनेका छन्।
आवश्यक परिमाणको चौथाइभन्दा कम मल मात्र उपलब्ध हुँदा यस वर्ष धान उत्पादनमा प्रत्यक्ष असर पर्ने जोखिम बढेको छ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा धानबालीका लागि १३ देखि १४ हजार मेट्रिकटन युरिया आवश्यक पर्नेमा हालसम्म करिब २ हजार ४ सय मेट्रिकटन मात्र आपूर्ति भएको छ। यस्तै, करिब ८ हजार मेट्रिकटन डीएपी आवश्यक रहेकामा २ हजार ५ सय मेट्रिकटन मात्रै उपलब्ध भएको उनले जानकारी दिए।
उनका अनुसार धानबालीका लागि अत्यावश्यक समयमा पर्याप्त मल उपलब्ध हुन नसक्दा किसानले समयमा मल प्रयोग गर्न पाएका छैनन्। यसले धानको वृद्धि र उत्पादन दुवैमा नकारात्मक असर पर्ने जोखिम बढेको उनले बताए।
रासायनिक मल अभाव भएपछि धेरै किसानले वैकल्पिक रूपमा जैविक मल प्रयोग गर्न थालेका छन्। तर, जैविक मलको प्रभाव देखिन समय लाग्ने भएकाले तत्काल उत्पादनका लागि किसान अझै पनि रासायनिक मलमै निर्भर रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
गौरादह–५ का किसान राजेन्द्र अधिकारीले रोपाइँ सम्पन्न भए पनि मल नपाउँदा उत्पादन घट्ने चिन्ताले सताएको बताए। समयमै मल उपलब्ध नभए खेतको हरियाली जोगाउनै कठिन हुने उनको भनाइ छ।
किसान मिना राजवंशीले बीउ, श्रम र सिँचाइमा ठूलो लगानी गरिसकेको अवस्थामा मल अभावले सबै मेहनत खेर जाने अवस्था सिर्जना भएको बताइन्। उनले सरकारले तत्काल पर्याप्त रासायनिक मल उपलब्ध गराउनुपर्ने माग गरिन्।
हालसम्म झापामा ६१.८ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। किसानहरूले तत्काल पर्याप्त रासायनिक मल आपूर्ति, सहज वितरण प्रणाली र वैकल्पिक मलको प्रभावकारी व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।