विराटनगर।देशभर मनसुनी गतिविधि केही कमजोर बन्दै गए पनि कोशी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित देशका अधिकांश पहाडी क्षेत्रमा आज वर्षाको सम्भावना कायमै छ ।
हाल गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहे पनि कोशी प्रदेशमा भने दिउँसो र राति वर्षाको मात्रा बढ्न सक्ने अनुमान गरिएको छ । मौसमविद्का अनुसार आगामी तीन दिनसम्म मौसमको वर्तमान प्रवृत्तिमा ठूलो परिवर्तन हुने संकेत छैन ।
“अधिकांश स्थानमा मध्यम वर्षा जारी रहने र एक–दुई स्थानमा मात्रै भारी वर्षा हुने सम्भावना छ,” विज्ञका अनुसार, “अति भारी वर्षाबाट ठूलो जोखिम उत्पन्न हुने अवस्था भने तत्काल देखिएको छैन ।”
कोशी प्रदेशसँगै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । मधेश प्रदेशका भने थोरै स्थानमा मात्र वर्षा हुने देखिएको छ । काठमाडौँ उपत्यकामा हिजोको तुलनामा आज मौसममा केही सुधार आउने र साधारणतया बदली रहने जानकारी दिइएको छ ।
भारी वर्षाको सम्भावना सीमित क्षेत्रमा मात्र रहेकाले विगतका दिनको तुलनामा ‘अति भारी’ वर्षाको जोखिम कम भएको विज्ञहरूको भनाइ छ । यद्यपि, पहाडी क्षेत्रमा स्थानीय रूपमा हुने भारी वर्षाले सडक तथा हवाई यातायातमा छोटो अवधिका लागि सामान्य अवरोध पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ ।
पहाडी भूभागमा भूक्षय र पहिरोको जोखिम रहने हुनाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।