विराटनगर । धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बन्ने पक्का भएको छ।
हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीकी समानुपातिक सांसद
ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन गर्ने निर्णय गरेपछि उनको जित निश्चित भएको हो। उनलाई नेपाली काँग्रेस, नेककपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले पनि समर्थन गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरस्वती लामालाई उपसभामुखको उम्मेदवार बनाएको छ । रास्वपाको समर्थनमा उम्मेदवारी दिएको राप्रपाले दावी गरेपनि लामालाई राप्रपाबाहेक अन्य दलको समर्थन नहुने देखिएको छ । त्यसैले ठाकुर उपसभामुख निर्वाचित हुने निश्चित भएको हो ।
ठाकुर सामान्य परिवारबाट राजनीतिमा उदाएकी जेनजी युवती हुन्। धनुषाको मझेलिया स्थित ठाकुर बस्तीमा जन्मिएकी उनी चार बहिनी र दुई भाइको परिवारबाट आएकी हुन्। उनका बुवा वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् भने आमा गृहिणी हुन्।
शैक्षिक रूपमा उनले एसईईपछि बलरा पोलिटेक्निकबाट इन्जिनियरिङमा तीन वर्षे डिप्लोमा पूरा गरेकी छन् र हाल सिभिल इञ्जिनियरिङ अध्ययनरत छिन्। सांसद बन्नुअघि उनी एक वास्तुकला कन्सल्टेन्सीमा काम गर्दै मासिक करिब २० हजार रुपैयाँ आम्दानी गर्थिन्।
उनको राजनीतिक यात्रा भने आकस्मिक रूपमा सुरु भएको हो। सामाजिक सञ्जालमार्फत् हर्क साम्पाङका गतिविधिबाट प्रभावित हुँदै उनले श्रमसंस्कृति पार्टीसँग जोडिएकी थिइन्। पार्टीले उनलाई मधेशी जनजाति क्लस्टरबाट समानुपातिक सांसद बनाएको थियो।
ठाकुर सामाजिक न्याय, महिला सशक्तीकरण, दाइजो प्रथा र बालविवाह जस्ता मुद्दामा मुखर रहँदै आएकी छन्। अब उपसभामुखको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेकी उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आफूले जिम्मेवारी सम्हाल्न सक्ने बताएकी छन्। “म सक्छु, देशलाई सधैं साथ दिन्छु,” उनको भनाइ छ।
ठाकुरको निर्वाचनसँगै नेपालले सबैभन्दा कम उमेरकी उपसभामुख पाउने भएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।