विराटनगर । बबरसिंह–देवकुमारी थापा स्मृति गुठीले २०८२ सालको ‘देवकुमारी थापा स्मृति सम्मान’ र ‘बबरसिंह थापा स्मृति सम्मान’को घोषणा गरेको छ । गुठीले बुधबार यस वर्षका सम्मानित प्रतिभाहरूको नाम सार्वजनिक गरेको हो ।
गुठीका अनुसार २०८२ सालको ‘देवकुमारी थापा स्मृति सम्मान’ वरिष्ठ कवि ज्ञान उदासलाई अर्पण गर्ने निर्णय गरिएको छ । ५१ हजार रुपैयाँ राशी र सम्मानपत्र रहेको यो सम्मान विगत २०१८ सालदेखि साहित्य साधना र सिर्जनामा सक्रिय उदासको योगदानको कदर गर्दै प्रदान गर्न लागिएको हो । कवि उदासका ‘कुन वेस ?’, ‘हामी बस पर्खिरहेका छौँ– बस’, ‘मनका कुरा’, ‘ज्ञान उदासका कविता’, ‘मेरो हराएको कविता’, ‘यस्तो लाग्छ’ र ‘खाली सारङ्गी’ गरी सातवटा कविता संग्र्रह प्रकाशित छन् ।
२०६८ सालदेखि दिन थालिएको यो सम्मानबाट यसअघि इन्द्रबहादुर राई, मदनमणि दीक्षित, सत्यमोहन जोशी, वैरागी काइँला, महावीर पुनलगायतका प्रतिष्ठित व्यक्तित्वहरू सम्मानित भइसकेका छन् ।
त्यस्तै, २०८२ सालकै ‘बबरसिंह थापा स्मृति सम्मान’ सुप्रसिद्ध फिल्म निर्देशक, लेखक, सञ्चारकर्मी तथा सामाजिक अभियन्ता संगीता श्रेष्ठलाई प्रदान गरिने भएको छ । यो सम्मानको राशी २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । श्रेष्ठले ‘श्रेष्ठ कथा काठमाडौँको’ (फिचर फिल्म) र ‘कथा प्रेमका’ (सर्ट फिल्म) को निर्देशन गर्नुका साथै ७० भन्दा बढी म्युजिक भिडियोहरूको निर्देशन गरिसकेकी छिन् । उनको ‘कथामा अल्झिएका प्रेम’ नामक उपन्यास समेत निकै चर्चित छ ।
वि.सं. २०६० सालदेखि वितरण सुरु गरिएको बबरसिंह थापा स्मृति सम्मानबाट हालसम्म डा. रामबहादुर थापा, मोमिला, धिरेन्द्र प्रेमर्षि, प्रमोद प्रधान लगायत २० जना व्यक्ति र २ वटा संस्था सम्मानित भइसकेका छन् ।विराटनगरलाई कर्मथलो बनाएर साहित्य र समाजसेवामा योगदान पु¥याएका बबरसिंह थापा र देवकुमारी थापाको स्मृतिमा यो गुठीले वर्षेनी विभिन्न विधाका साधकहरूलाई सम्मानित गर्दै आएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।