भूमिका
नेपालको वाम राजनीति लामो इतिहास, संघर्ष र वैचारिक प्रतिबद्धताबाट निर्मित भएको हो। तर पछिल्ला वर्षहरूमा वाम शक्तिहरूको प्रभाव क्रमशः कमजोर हुँदै गएको देखिन्छ। यस सन्दर्भमा फेरि ‘बाम एकता’को चर्चा तीव्र बनेको छ। सतहमा हेर्दा यो प्रयास सकारात्मक जस्तो देखिए पनि यसको समय, उद्देश्य र आधारबारे गम्भीर प्रश्न उठ्छन्। के यो वास्तवमै विचार, कार्यक्रम र जनदिशामा आधारित एकता हो, वा कमजोर बन्दै गएको अवस्थाबाट उन्मुक्ति खोज्ने हतारो? यही प्रश्नको वस्तुगत विश्लेषण आवश्यक छ।
विषयवस्तु
१) एकताको प्रश्नभन्दा ठूलो—परिस्थिति अनुसार रूपान्तरण
एकता आफैँमा सकारात्मक र आवश्यक प्रक्रिया हो। सिद्धान्ततः कम्युनिष्ट आन्दोलनमा एकताको महत्त्वबारे कुनै विवाद छैन। तर मूल प्रश्न केवल एकता वा दस्ताबेजको होइन। प्रश्न यो हो—बिकसित राजनीतिक परिस्थिति र जनदिशाअनुसार आफूलाई अद्यावधिक गर्न सकिन्छ कि सकिँदैन? जनताको अपेक्षाअनुसार उचित समयमा परिणाम दिन सकिन्छ कि सकिँदैन? वा पुरानै ढर्रामा रमाइरहने हो? यही नै अहिलेको केन्द्रीय प्रश्न हो।
२) विगतका अनुभव : एकता पर्याप्त छैन
के कम्युनिष्ट शक्तिहरूको अहिलेको अवस्था एकताको अभावका कारण आएको हो? नेकपा (माओवादी) केन्द्र कुनै समय ठूलो शक्ति बनेको एकताकै परिणाम हो। तर आज किन १८ सिटमा सीमित हुनुपर्यो? एकता त भएकै थियो—विभिन्न समूह र दलहरूबीच। तर जनमत किन कमजोर भयो? यसको मूल कारण आफ्नो स्थापित संगठनात्मक संरचनाको संरक्षण, सुदृढीकरण र रुपान्तरणको सवाललाई बेवास्ता गर्नु हो।
त्यसैगरी, नेकपा (एमाले) ले बहुमत हासिल गर्दा पनि त्यो केवल एकताको कारण मात्र थिएन। बाम एकताको नाममा बनेको नेकपा स्वयं “बोकाको मुखमा कुभिन्डो” साबित भएको तथ्य अझै ताजै छ। त्यसपछिको अवस्थाले स्पष्ट देखायो—एकता मात्र होइन, त्यसको गुणस्तर र कार्यान्वयन अझ महत्वपूर्ण हुन्छ।
स्वतःस्फूर्त ध्रुवीकरणलाई स्वीकार गर्न सकिन्छ, एकताको चाहना पनि सकारात्मक हो। तर इतिहास कसैको आकस्मिक इच्छा वा हठबाट निर्माण हुँदैन।
३) रूपान्तरणबिना समाजवाद सम्भव छैन
जनतालाई समाजवादको ‘आदेश’ दिएर समाजवाद आउँदैन। त्यसका लागि आफूलाई सोहीअनुरूप रूपान्तरण गर्नुपर्छ। नयाँ सामाजिक अन्तर्विरोधहरूलाई बुझ्न र त्यसअनुसार संगठन र कार्यशैलीलाई ढाल्न नसक्दा आजको समस्या उत्पन्न भएको हो। यो यथार्थलाई आत्मसात् नगरेसम्म “डाइनोसर” बन्नबाट कसैले जोगाउन सक्दैन।
अहिले “हरुवा गोरुको छेरुवा दाउ” जस्तो मनोविज्ञान व्यवहारिक छैन। आफ्नो पंक्तिको संरक्षण, सुदृढीकरण र रूपान्तरणतर्फ ध्यान दिन नसक्नेहरूको हतास मानसिकताको अभिव्यक्ति मात्र हो—तथाकथित बाम एकताको अहिलेको हतारो।
निष्कर्ष
अहिलेको प्राथमिकता स्पष्ट हुनुपर्छ:
१. आफ्ना पंक्तिको पहिचान गरी जिम्मेवारी लिनु, सुदृढ र शुद्धिकृत बनाउनु।
२. रचनात्मक प्रतिपक्षको भूमिका दृढतापूर्वक निर्वाह गर्नु।
यी न्यूनतम कार्यहरू गर्ने साहस नगरी, बाहिरबाट थोपारिएको जस्तो देखिने बाम एकताको हतारो गर्नु आत्मप्रति गैर-जिम्मेवारी र हतास मानसिकताको उपज बाहेक अरु केही होइन।
(लेखक नेपाली कम्युनिस्ट पार्टीका युवा नेता हुन्)




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।