लोड हुँदैछ...

मेनु

नेप्सेमा ५४ अङ्कको उच्च वृद्धि, साढे २३ अर्बमाथिको कारोबार

नेप्सेमा ५४ अङ्कको उच्च वृद्धि, साढे २३ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उल्लेख्य सुधार आएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ५१ अङ्क अर्थात् एक दशमलव ८९ प्रतिशतले बढेर दुई हजार ९३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ ।

बजारमा उत्साह देखिँदा कारोबार रकमले पनि उच्च स्थान ओगटेको छ । नेप्सेका अनुसार आज विभिन्न ३६४ कम्पनीका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता शेयर २ लाख ४ हजार ९५५ पटक खरिदबिक्री हुँदा कुल २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा व्यापार समूह बाहेक अन्य सबै उपसूचकहरूमा हरियाली छाएको छ । व्यापार समूह शून्य दशमलव ११ प्रतिशतले घट्दा सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक ४ दशमलव २१ प्रतिशतले बढेको छ । यस्तै, होटल तथा पर्यटन ३ दशमलव ०५, निर्जीवन बीमा २ दशमलव ७२, बैंकिङ २ दशमलव ४९, विकास बैंक २ दशमलव ४६ र वित्त समूह २ दशमलव १३ प्रतिशतले बढेको छ ।

अन्य समूहहरूमा जीवन बीमा २ प्रतिशत, उत्पादन तथा प्रशोधन १ दशमलव ९३, म्युचुअल फन्ड १ दशमलव २४, लगानी शून्य दशमलव ७७ र जलविद्युत् समूह शून्य दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ ।

आजको बजारमा ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरूमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सलपा विकास बैंक लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड र भुजुङ हाइड्रोपावर लिमिटेड रहेका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने एनआईसी एसिया ब्यालेन्स फन्डको शेयर मूल्य ५ दशमलव ७१ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज कुमारी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस बैंकको ८५ करोड ९६ लाख १५ हजार ६८३ रुपैयाँ बराबरको ३५ लाख ४६ हजार ८५३ कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।