लोड हुँदैछ...

मेनु

विराटनगरमा ‘अक्षरको यात्री’ को लोकार्पण

विराटनगरमा ‘अक्षरको यात्री’ को लोकार्पण

विराटनगर । विराटनगरमा शनिबार समालोचनात्मक कृति ‘अक्षरको यात्री’ सार्वजनिक गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित विशेष समारोहमा विदुषी साहित्यकार निर्मला कोइरालाले सम्पादन गरेको उक्त कृतिको लोकार्पण गरिएको हो ।

वरिष्ठ साहित्यकार डा. कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए । समारोहमा प्रतिष्ठानका अध्यक्ष एवं विराटनगर प्रज्ञा प्रतिष्ठानका प्राज्ञ विवश पोखरेल, महेन्द्र मोरङ क्याम्पसका पूर्वप्रमुख बाबुराम तिम्सिना, प्राज्ञ खेम नेपाली, गंगा सुवेदी तथा बलराम पोखरेललगायत प्राज्ञिक व्यक्तित्वहरूको उपस्थितिमा कृति विमोचन गरिएको हो ।

‘अक्षरको यात्री’ संग्रहभित्र १६ जना मूर्धन्य साहित्यकारका कृतिहरूमाथि गरिएका समालोचनाहरू समेटिएका छन् । नेपाली साहित्यका विभिन्न धार र प्रवृत्तिलाई सुक्ष्म रूपमा केलाइएको कृतिमा युगपुरुष विश्वेश्वरप्रसाद कोइरालादेखि वर्तमान पुस्ताका स्रष्टाहरूसम्मका सिर्जनामाथि आलोचनात्मक दृष्टि प्रस्तुत गरिएको छ । यसले पुस्तान्तरबीचको साहित्यिक दूरीलाई कम गर्दै एउटा बलियो बौद्धिक सेतु निर्माण गर्ने विश्वास लिइएको छ ।

समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि डा. कृष्णप्रसाद दाहालले नेपाली साहित्यमा समालोचना विधाको गरिमा र आवश्यकतामाथि प्रकाश पारे । उनले भने, “सिर्जनाको उचित मूल्याङ्कन र निष्पक्ष विश्लेषणले नै साहित्यलाई परिष्कृत बनाउँछ । स्वस्थ समालोचनाविना साहित्यको जग बलियो हुन सक्दैन, त्यसैले यो कृतिले नयाँ सर्जकहरूका लागि मार्गदर्शनको कार्य गर्नेछ ।”
त्यस्तै, कार्यक्रमका अन्य वक्ताहरूले समालोचनालाई केवल छिद्रान्वेषणका रूपमा मात्र नलिन आग्रह गर्दै यसलाई बौद्धिक विमर्शको एउटा उत्कृष्ट माध्यमका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।
कृतिकी सम्पादक निर्मला कोइरालाले आफ्नो मन्तव्यका क्रममा कृतिले नेपाली साहित्यका विविध आयामलाई सन्तुलित दृष्टिकोणबाट प्रस्तुत गर्ने जमर्को गरेको र समालोचक स्व.दधिराज सुवेदीको प्रेरणाबाट सम्पादन यात्रामा अघि बढेको बताइन् ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव गोकुल अधिकारीले गरेका थिए । कार्यक्रममा उपस्थित भएका अन्य विद्वतवर्गले पनि कृतिको विषयवस्तु र यसले नेपाली समालोचनाको परम्परामा पु¥याउने योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।